२ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

सिस्नो पाउडर प्रयोगकर्ता बढे, माग अनुसार उत्पादन गर्न हम्मेहम्मे

लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले सिस्नोको प्रशोधन सुरु गरेको छ। प्राकृतिक रूपमा उम्रने सिस्नोबाट आम्दानी गर्ने उद्देश्यले चैते सामुदायिक वन उपभोक्ता समितिले सिस्नोको परीक्षण प्रशोधन सुरु गरेको हो।

डिभिजन वन कार्यालय तेह्रथुममार्फत अनुदानमा प्राप्त १० लाख मूल्य बराबरका एक थान हरियो सिस्नोलाई सुकाउने मेसिन, एक थान सुकेको सिस्नोलाई पिसेर पाउडर बनाउने मेसिन र एक थान प्याकेजिङ मेसिनमार्फत परीक्षण प्रशोधन सुरु गरिएको चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए।

लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार वसन्तपुर नजिकैको डाँडाखर्कबाट प्रशोधन सुरु गरिएको हो। उद्योग दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको समितिले प्रारम्भमा दैनिक १० केजीसम्म पाउडर उत्पादन गर्ने लक्ष्य राखेको छ। विभिन्न जिल्लाबाट सुपरमार्केटहरूले बिक्री–वितरणका लागि समितिलाई सम्पर्क गरिरहेका छन्। त्यसैले त्यतिले माग धान्न गाह्रो हुने भएकाले दैनिक ५० केजीसम्म पाउडर उत्पादन गर्न सक्ने मेसिनको स्रोत खोजी गरिरहेको जिल्ला समन्वय समितिका उपप्रमुखसमेत रहेका सिस्नो प्रशोधन अभियन्ता श्रीप्रसाद कार्कीले बताए।

अहिले हरियो सिस्नो प्रतिकेजी ८० मा खरिद गरेर प्रशोधन गरिँदैछ। प्रशोधन गरेर १ केजी पाउडर तयार गर्न ९ केजी हरियो सिस्नो चाहिन्छ र त्यसको मूल्य करिब ३५०० पर्ने प्रशोधनमा खटिँदै आएका चैते सामुदायिक वन उपभोक्ता समितिका सहसचिव दीपेन्द्र बस्नेतले बताए।

विसं २०५२ मा स्थापना भएको चैते सामुदायिक वन उपभोक्ता समितिमा ३६० घरधुरी उपभोक्ता आबद्ध छन्। ३५४.४ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमध्ये १ हेक्टरमा सिस्नो रोपण गरिएको छ। समितिका पदाधिकारी, सदस्य र उपभोक्ताको श्रमदानबाट पात्ले, अल्लो र घरायसी जातका सिस्नो रोपण गरिएको हो।

प्रशोधनका लागि हरियो सिस्नोको अभाव नहोस् र गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार रहेको वसन्तपुर बजार आउने सिस्नोका सौखिन पर्यटकलाई घारीमै सिस्नो देखाउने, टिपाउने र पकाएर खुवाउने लक्ष्य रहेको उपभोक्ता समितिका सदस्य तथा सिस्नो प्रशोधन कार्यक्रम उपसमितिका सदस्य वीरेन्द्र बस्नेतले बताए।

बहुगुण भएको सिस्नोलाई पहिले गरीब दुखीले खाने जङ्गली सागका रूपमा लिइन्थ्यो। तर, सिस्नोको उपयोगिता, महत्त्व र मानव स्वास्थ्यमा फाइदाबारे थाहा भएपछि होमस्टेदेखि तारे होटलसम्म सिस्नोको माग बढेको छ। बाह्रै महिना पर्यटकीय चहलपहल हुने वसन्तपुर बजारका होटलमा सिस्नोको दाल खोज्ने पर्यटक प्रशस्तै आउँछन्। बाह्रैमास नपाइने सिस्नोको प्रशोधन थालिएपछि अब जुनसुकै ‘सिजन’ मा पनि पर्यटकलाई सिस्नो खुवाउन सकिने आशा पलाएको वसन्तपुरस्थित दार्जिलिङ होटलका प्रोप्राइटर वीरेन्द्र बस्नेतको भनाइ छ।

प्रायः बस्तुभाउको चाराको रूपमा प्रयोग हुने सिस्नो स्थानीय स्तरमै प्रशोधन थालिएपछि स्थानीय उत्साहित छन्। चैते सामुदायिक वनले सुरु गरेको सिस्नो प्रशोधन कार्यले व्यावसायिक चरणमा प्रवेश गरेसँगै सिस्नोबाट राम्रो आर्थिक उपार्जन हुने स्थानीयको आशा छ।

विशेष गरेर सेपिलो र चिस्याइलो पहाडी पाखा–भित्ता, वनजङ्गल र खोला–खोल्सामा प्रशस्त पाइने सिस्नो बहुउपयोगी वनस्पति हो। सिस्नो पोसिलो सागपातअन्तर्गत पर्छ, यसमा औषधीय गुण हुन्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउने जानकारहरू बताउँछन्। बबिता राई/रासस

प्रकाशित: ११ आश्विन २०८२ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App