११ कार्तिक २०८३ बुधबार
image/svg+xml
अर्थ

धान काट्न चितवन आउने मजदुर घटे, ज्याला बढ्यो

चितवनमा धान पाकेर पहेँलपुर भएको छ। किसानलाई पाकेको धान भित्र्याउने चटारो छ तर धान काट्ने मजदुरको अभाव भएपछि किसानलाई समयमै बाली भित्र्याउन समस्या हुन थालेको छ। खेताला पाउन कठिन हुँदै गएपछि ज्यालासमेत बढेको छ।

रौतहटका रामचन्द्र यादव धान काट्ने कामका लागि १२ जनाको समूह लिएर चितवन आएका छन्। उनी हरेक वर्ष धान काट्ने समयमा चितवन आउने गर्छन् तर यसपटक गाउँमै मजदुर पाउन कठिन हुन थालेको उनको अनुभव छ। पहिले १० देखि १६ जनासम्मको समूह बनाएर आउने गरे पनि अहिले कामदार जुटाउनै मुस्किल हुन थालेको उनी बताउँछन्।

‘हामी गरिब मान्छे, काम गरेर कमाउनुपर्छ। सरकारले पनि साथ दिँदैन’, यादवले भने, ‘घरमा दुई छोरा र दुई छोरी छन्। परिवार पाल्न र बालबच्चाको खर्च जुटाउन काम गर्नैपर्छ। चाडपर्वमा घरपरिवारसँग बस्ने रहर भए पनि कमाउनका लागि यहाँ आउनुपर्छ।’

रौतहटकै रामेश्वर यादव पनि धान काट्न चितवन आएका छन्। दसैंको समयमा घरपरिवारसँग बसेर टीका लगाउने रहर भए पनि कामको बाध्यताले उनलाई घर फर्किएनन्। छोराछोरीको पढाइ र घरखर्च चलाउनुपर्ने भएकाले उनी धान काट्ने काममा व्यस्त छन्। ‘काम गर्न पहाड आएको छु। अब घर जान पाइँदैन,’ उनले भने, ‘बालबच्चा छन्, पढाउनुपर्छ। पैसाको खाँचो छ। घरमा एक छोरा र एक छोरी छन्। टीका लगाउने इच्छा भए पनि काम छाडेर घर जान सकिँदैन।’

रामचन्द्र र रामेश्वरजस्ता तराईका जिल्लाबाट आउने मजदुर चितवनका किसानका लागि धान भित्र्याउने मुख्य श्रमशक्ति हुन्। उनीहरू धान काट्ने सिजनमा चितवन आएर खेतमा काम गर्छन् । एउटा खेतको काम सकेपछि अर्को खेतमा पुग्छन् तर यसरी धान काट्न आउने मजदुरको संख्या घट्दै गएको गैंडाकोटका अर्जुप्रसाद सापकोटा बताउँछन्।

सापकोटाले यस वर्ष धान काट्ने मजदुर पाउन विगतभन्दा कठिन भएको बताए। पहिले प्रतिकठ्ठा एक हजार रुपैयाँमा धान काट्ने मजदुर पाइने गरेकामा अहिले १२ सय रुपैयाँ तिर्नुपरेको उनको भनाइ छ।

‘पहिले धान काट्ने काम केही सहज थियो। अहिले रौतहट, सिराहालगायतका ठाउँबाट आउने मजदुर पनि कम भएका छन्’, सापकोटाले भने, ‘गाउँमा युवा छैनन्। अर्को वर्ष त हामी पनि आउन भ्याउँदैनौँ होला भन्ने मजदुरले नै भन्न थालेका छन्।’

सापकोटाका अनुसार स्थानीयस्तरमा मजदुर नपाउँदा बाहिरबाट आउने समूहकै भर पर्नुपर्ने अवस्था छ। पाँच कठ्ठा जमिनमा धान लगाएका उनलाई पनि समयमै धान काटेर भित्र्याउन मजदुरको व्यवस्था गर्नुपर्ने चुनौती छ। पहिले सहजै सकिने काम अहिले मजदुर खोज्दैमा समय लाग्ने गरेको उनले बताए। विगतमा यति बेला धान काटिसक्ने भए पनि अहिले मजदुर नपाउँदा समस्या भएको उनले बताए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार पूर्वी चितवनमा अहिले धान काट्ने काम भइरहेको छ। चैते धानको तुलनामा कम्बाइन हार्भेस्टरको प्रयोग कम हुने भएकाले यस समयमा मजदुरको आवश्यकता बढी हुन्छ।

उनका अनुसार चितवनमा धान काट्ने काममध्ये करिब ८० प्रतिशत काम मजदुरबाटै हुने गरेको छ। ‘विशेषगरी तराईका विभिन्न जिल्लाबाट आउने मजदुरले धान काट्ने काम गर्दै आएका छन्,’ उनले भने ‘थोरै जमिन भएका र परिवारका सदस्य उपलब्ध भएका किसानले मात्र आफैं धान भित्र्याउँछन्। पैसा भएका किसानले बाहिरी खेतला नै रोज्छन्।’

यहाँका किसानले धान काट्न, रोप्न र गोड्न बाहिरबाटै मजदुर बोलाउने गर्दछन्। मजदुरका समूह खेतमै अस्थायी टेन्ट बनाएर बस्ने र एउटा खेतको काम सकेपछि अर्को खेतमा जाने उनले बताए।

कतिपयले काम गर्ने ठाउँ नजिकै डेरा लिएरसमेत बस्ने गरेका छन्। रेग्मीका अनुसार यस वर्ष धान काट्न आउने मजदुरको संख्या घटेको भन्ने सुनिएको छ। ‘पहिले नियमित रूपमा चितवन आउने मजदुरमध्ये कतिपय विदेश गएका छन्। नयाँ पुस्ता पनि धान काट्ने काममा आउन नमान्दा श्रमिकको अभाव बढ्दै गएको छ। ‘पहिले आउने मजदुर नै अहिले पनि आउने गरेका छन्। नयाँ पुस्ता यो काममा आउन मान्दैन’, उनले भने।

चितवनमा २७ हजार २५ हेक्टर क्षेत्रफलमा बर्से धान खेती गरिएको थियो। अहिले विशेषगरी पूर्वी चितवनमा धान भित्र्याउने काम धमाधम चलिरहेको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App