उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन्।
नेपाल हस्तकला महासङ्घको ५३औँ स्थापना दिवस तथा १४औँ हस्तकला दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। उद्योगमन्त्री सिन्हाले भने, “नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकला क्षेत्रको आफ्नो विशिष्ट पहिचान रहेकाले यसको विकासमा सरकारले निरन्तर सहयोग रहन्छ ।”
मन्त्री सिन्हाले हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः हल गर्दे लैजाने उल्लेख गरे।
बागमती प्रदेशका उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले बागमती प्रदेश सरकार हस्तकला क्षेत्रको विकासका लागि निरन्तर लाग्ने विश्वास व्यक्त गरिन् । उनले देशभरको ८० प्रतिशत हस्तकला बागमती प्रदेशभित्र भएको जनाउँदै बागमती प्रदेशले आगामी वर्ष हस्तकला दिवस घोषणा गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले राष्ट्रको पहिचान भनेको कला, संस्कृति भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सबै लाग्नुपर्ने बताए। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै लाग्नुपर्ने उल्लेख गर्दै उनले शिक्षालाई जागिरभन्दा रोजगारमूलक र व्यावसायिकमूलक बनाउँदै अगाडि बढाउनुपर्ने बताए। राष्ट्रिय हस्तकला विकास नीति ल्याउनका लागि सरकारले पहल थाल्नुपर्ने उनको भनाइ थियो ।
महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले मौलिक र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महासङ्घले निरन्तर काम गर्दै आइरहेको बताए। अध्यक्ष शाक्यले वार्षिक २५ देखि ३० अर्बको हस्तकला निर्यात हुँदै आएको वर्तमान अवस्थामा सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताए। उनले हस्तकला क्षेत्रको विकासका लागि सरकारीस्तरबाट हस्तकला क्षेत्र हेर्नका लागि छुट्टै विभाग स्थापना गर्र्न आग्रह गरे।
सो अवसरमा हस्तकला क्षेत्रमा महत्वपूर्ण योगदान दिने ७२ वर्ष उमेरभन्दा माथिका अग्रज कलाकारलाई सम्मान गरिएको थियो ।
हस्तकला धेरै निर्यात गर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गरिएको थियो । ५३ वर्ष पहिले स्थापना भएको उक्त महासङ्घमा हाल चार हजार ५०० व्यवसायी तथा कालिगढ आबद्ध रहेका छन्। -रासस
प्रकाशित: २८ मंसिर २०८२ १९:०२ आइतबार





