नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की तत्कालीन प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनः प्रबन्धनिर्देशक पदमा बहाल भएकी छन्।
विशेष अदालतबाट आफूविरुद्ध लागेको आरोपमा पूर्ण सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरिएको हो।
पदबहालीपछि आयोजित कार्यक्रममा प्रबन्धनिर्देशक अर्यालले कर्मचारीहरूलाई संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कुनै डर वा दबाबमा नपर्न आग्रह गरिन्। उनले विगतमा कर्मचारीमाथि लागेका आरोप र भ्रम अन्ततः सत्यको जीतसँगै समाप्त भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थाको नेतृत्व सम्हाल्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन्।
अर्यालले कम्पनीमा प्रक्रियागत सुधारलाई प्राथमिकता दिँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारवालाको अपेक्षालाई समेत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाल सरकारको नीति र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास, बजार साख तथा सेवा गुणस्तरलाई थप सुदृढ बनाउने बताइन्।
नेपाल टेलिकमले पनि गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा देशको दूरसञ्चार क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका थप प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता दोहोराएको छ।
प्रकाशित: २९ असार २०८३ १६:२० सोमबार





