२ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

सरकारी आश्वासनले खुले चिया उद्योग: हरियो पत्ति किन्न थालियो

फाइल तस्बिर

भारतीय पक्षबाट नेपाली चिया निर्यातमा अवरोध भएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। उद्योगीहरूले स्थानीय तह र संघीय सरकारबाट समस्या समाधानका लागि प्रतिबद्धता आएपछि उद्योग सञ्चालन पुनः सुरु गरिएको बताएका छन्।

भारतीय टी बोर्डको अवरोधका कारण नेपाली चिया भारत निर्यात हुन नसक्दा उत्पादन भएको चिया भण्डारण गर्न कठिन हुने, किसानलाई भुक्तानी दिन नसकिने तथा उद्योग सञ्चालन नै प्रभावित हुने अवस्था सिर्जना भएको थियो। यही कारण देखाउँदै सूर्योदय नगरपालिकाभित्र सञ्चालित ५३ वटा चिया उद्योगले असार १ गतेदेखि उद्योग बन्द गरेका थिए।

सूर्योदय अर्थोडक्स चिया उत्पादक सङ्घका अनुसार स्थानीय तहसँग भएको छलफल र संघीय सरकारले चिया क्षेत्रको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गरेपछि उद्योग पुनः सञ्चालन गर्ने र किसानबाट हरियो पत्ती खरिद गर्ने निर्णय गरिएको हो।

चिया निर्यातसँग सम्बन्धित समस्या समाधानका लागि व्यवसायी, उद्योगी र सम्बन्धित मन्त्रालयबीच पटक–पटक बैठक तथा छलफल भएको थियो। ती छलफल सकारात्मक दिशामा अघि बढेकाले उद्योग सञ्चालन गर्ने सहमति जुटेको सङ्घले जनाएको छ।

सङ्घका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूद्वारा जारी विज्ञप्तिमा चिया उद्योग, किसान तथा श्रमिकका समस्या दीर्घकालीन रूपमा समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरिएको र स्थानीय तहले देखाएको सक्रियताले उद्योग सञ्चालन पुनः सुरु गर्ने वातावरण बनेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार उद्योगहरूले अब गुणस्तरीय तथा विषादीरहित चिया उत्पादनलाई प्राथमिकता दिनेछन्। साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अर्थोडक्स चिया उत्पादनमा विशेष जोड दिँदै वैकल्पिक अन्तर्राष्ट्रिय बजारको खोजी तथा विस्तारका लागि पहल गरिने जनाइएको छ।

उद्योगीहरूसँग भएको वार्तामा सूर्योदय नगरपालिकाले उत्पादन भएको चिया भण्डारणका लागि गोदाम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। निर्यात अवरोधका कारण भण्डारण र किसानलाई भुक्तानीमा समस्या बढेपछि उद्योग बन्द गर्ने निर्णय गरिएको थियो। अब उद्योग सञ्चालनसँगै किसान र श्रमिकको आर्थिक गतिविधि पनि पुनः चलायमान हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ असार २०८३ १५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App