१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

निजी बैंकलाई पनि सुनचाँदी धितो कारोबार दिन गभर्नरसामु ताप्लेजुङका व्यवसायीको माग

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग ताप्लेजुङका उद्योगी व्यवसायीले सहुलियतपूर्ण कर्जादेखि राष्ट्र बैंकबाट मान्यता प्राप्त निजी बैंकहरूलाई सुनचाँदी धितो राख्ने अनुमति दिन माग गरेका छन्।

जिल्लाको आर्थिक समस्या र अवस्था बुझ्न गभर्नर पौडेलसहितको राष्ट्र बैंकको टोली फुङलिङ आइपुगेको बेला यहाँका उद्योगी व्यवसायी तथा किसान अगुवाहरूले समस्या बारे अवगत गराएका थिए। निर्माण व्यवसायी जसबहादुर लिम्बू र कालीबहादुर थेबेले निर्माण व्यवसाय क्षेत्रमा परेको असरको गाँठो फुकाउन राष्ट्र बैंकले सहज नीति निर्माण गरिदिनुपर्ने बताए। रकम भएजत्तिको मात्र बोलपत्र आवह्वान गर्नुपर्ने उनीहरूको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरेले सहुलियतपूर्ण व्यावसायिक कर्जा सहज रूपले पाउने वातावरणका लागि राष्ट्र बैंक अग्रसर हुनुपर्ने सुझाव दिए। ताप्लेजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका घिमिरेले निर्माण व्यवसायीले जाने अधिकतम् घटी दर (बिलो रेट) तोक्न अनिवार्य रहेकोमा जोड दिए। 

अलैँची जोन ताप्लेजुङका पूर्व अध्यक्ष दिनेश अधिकारीले अलैँची किसान र व्यवसायीलाई अनुदान र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको ध्यानाकर्षण गरे। बैंकको ब्याजमा एकरूपता कायम हुनुपर्ने र अलैँची किसानलाई रोपणदेखि सिँचाइसम्म व्यवसायीलाई भण्डारण र प्याकेजिङसम्ममा कर्जा र अनुदान सहयोग प्राप्त भए उत्पादन तथा बिक्री व्यवस्थापन सहज हुने अधिकारीको भनाइ थियो।

घरेलु तथा साना उद्यमीको तर्फबाट कुरा राख्दै ढाका कपडा व्यवसायी तथा उद्यमी शान्ति मादेनले कच्चा पदार्थको आयातदेखि व्यवसाय प्रवर्द्धनसम्ममा सहयोगको याचना गरिन्। कृषक अगुवा नन्दकुमार आङवुहाङले कृषि क्षेत्रप्रतिको घट्दो भरोसा अन्त्य गरी व्यावसायिक कृषि प्रणालीमा आबद्ध गराउने पद्धति पुनर्स्थापना गर्न कृषकहरूलाई अनुदानदेखि सहुलियतपूर्ण कर्जासम्मको व्यवस्थाको माग गरेका छन्। उनले सबै व्यवसायीहरूलाई व्यावसायिक पान नम्बर अनिवार्य गर्न राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताएका छन्।

पाथभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेलले राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’वर्गसम्मका बैंकलाई सुनचाँदी धितो राखी कारोबार गर्न दिने अनुमति प्रदान हुनुपर्ने बताए। ताप्लेजुङमा सरकारको स्वामित्वका तीनसहित १४ वटा बैंक रहेको सुनाउँदै उनले नेपाल बैंक लिमिटेडलाई मात्र बैंकबाट सुनचाँदी धितो राखी कारोबार गर्न दिने अनुमति रहेको उनको दाबी थियो।

इलाम र पाँचथरका उद्योगी, व्यवसायी र सरोकारवालासँग छलफल सकेर ताप्लेजुङ आएको टोलीमा गभर्नर पौडेलका साथ राष्ट्र बैंकका रामु पौडेल, डाक्टर रामशरण खरेल, सुमन न्यौपाने र दिपेश प्रधान समेत रहेका छन्।

प्रकाशित: ११ मंसिर २०८२ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App