४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान प्रवर्द्धन गर्न छुटै-छुट

सरकारले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवर्द्धन गर्न २०८३ भदौ मसान्तसम्मका लागि छुटैछुटका सुविधाहरू ल्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले जारी गरेका छुट र सहुलियत सुविधा सार्वजनिक गरेको छ।

पहिलो छुट सुविधामा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क पूर्ण रूपमा छुट गर्ने उल्लेख छ।

यस्तै दोस्रोमा दुवै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा छुट गर्ने, तेस्रोमा अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको एक हजार पर्यटन शुल्क पूर्ण रूपमा छुट गर्ने उल्लेख छ।

यस्तो चौथो छुट सुविधामा दुवै  विमानस्थलमा लाग्दै आएको अन्तर्राष्ट्रिय हवाई उडानमा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिने अर्को सुविधा दिइएको छ। 

विज्ञप्तिमा नेपाल सरकार(मन्त्रिपरिषद्)ले २०८१ साउन २८ गते स्वीकृत गरेको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्य योजना’ बमोजिम २०८३ भदौ मसान्तसम्मका लागि यो छुट सहुलियत सुविधा ल्याएको उल्लेख छ। 


 

प्रकाशित: २३ श्रावण २०८२ १८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App