सार्क च्याम्बर अफ कमर्श र इन्डष्ट्रीका अध्यक्ष डा. चण्डीराज ढकालले चीन र दक्षिण एशियाली राष्ट्रहरूबीच आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।
चीनको कुनमिङमा आयोजित १०औँ चीन–दक्षिण एशिया प्रदर्शनी (सीएसए एक्पो) तथा ३०औँ चीन कुनमिङ आयात तथा निर्यात मेला को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले दक्षिण एशिया र चीनबीचको व्यापारिक सम्बन्ध पछिल्लो दशकमा उल्लेखनीय रूपमा विस्तार भएको बताएका हुन्।
उनले उपलब्ध तथ्यांकअनुसार चीन–दक्षिण एशियाबीचको व्यापार २०० अर्ब अमेरिकी डलर नाघिसकेको उल्लेख गर्दै यसले क्षेत्रीय आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको बताए। ढकालका अनुसार उक्त प्रदर्शनी केवल व्यापारिक कार्यक्रम मात्र नभई औद्योगिक विकास, प्रविधि हस्तान्तरण, बजार विस्तार तथा लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर बनेको छ।
कार्यक्रममा चीनका सरकारी अधिकारी, दक्षिण एशियाली मुलुकका मन्त्री, कूटनीतिज्ञ, व्यवसायी तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त मेलामा १८ हजारभन्दा बढी प्रदर्शनी स्टलहरू राखिएको तथा ३ हजारभन्दा बढी सहकार्यसम्बन्धी परियोजनामा हस्ताक्षर भएको जानकारी दिइएको छ।
अध्यक्ष ढकालले दक्षिण एशियाली निजी क्षेत्रबीच सहकार्य विस्तार गर्दै क्षेत्रीय आर्थिक स्थायित्व, समृद्धि र लगानी वातावरण निर्माणमा सार्क च्याम्बर अफ कमर्श र इन्डष्ट्रीका प्रतिबद्ध रहेको बताए।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष कुमारी भण्डारीले नेपाल–चीन व्यापार, लगानी तथा क्षेत्रीय सहकार्य विस्तारमा यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूको महत्वपूर्ण भूमिका रहने बताइन्।
कार्यक्रममा सार्कका महासचिव गोलाम सरवरले दक्षिण एशियाको दिगो विकास, क्षेत्रीय समृद्धि र आर्थिक एकीकरणका लागि चीन–दक्षिण एशिया सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
यस कार्यक्रमलाई दक्षिण एशिया र चीनबीचको व्यापार, लगानी, पूर्वाधार विकास तथा क्षेत्रीय आर्थिक साझेदारीलाई नयाँ गति दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रकाशित: २९ जेष्ठ २०८३ १५:४१ शुक्रबार


-600x400.jpg)


