गएको ४८ घण्टायताको निरन्तरको वर्षाले उदयपुरका किसान मार्कामा परेका छन् । वर्षाले विभिन्न ठाउँको धान खेतमा सबभन्दा बढी क्षति गरेको छ भने सडकहरु प्नि भत्केर यातायात आवागमनमा असहज स्थिति पैदा गरेको छ ।
वर्षाले जिल्लाका विभिन्न स्थानीयतहका किसानको पाक्न लागेको धान बालीमा व्यापक नष्ट गरेको छ । बुधबार साँझदेखि नै छिटाउन थालेको बैमौसमी वर्षा कस्सेर नपरेको तर, सामान्य भए पनि लगातार ४८ घण्टादेखि नरोकिइ भईरहेकाले पत्तै नपाई धेरै क्षति पुर्याएको छ ।
निरन्तरको वर्षाले खेतमा पाक्न लागेको धानबाली सबै लडाएर अपुरणीय क्षति पुगेकोमा सबभन्दा बढी किसान मार्कामा परेका छन् । त्रियुगा नगरपालिका ७ होक्सेका शेरबहादुर कार्कीले पाक्न लागेको धान सबै वर्षाले नष्ट गरेको दुखेसो गरे । वर्षभरी खान पुग्ने ८ कठ्ठा खेतको धान भित्र्याउने बेला वर्षाले सबै जमिनमै मिलाई दिएको भन्दै उनी चिन्तित भएका छन् ।
‘यत्ति खेतको धानले परिवारलाई वर्षभरी पुर्याउँदै आएको हुँ, यसपालि वर्षाले सबै सखाप पार्यो’ कार्कीको चिन्ता छ ‘बेला न कुबेला भएको यो वर्षाले गर्नु गर्यो । अव परिवारलाई के खुवाउने होला भनेर चिन्ता बढायो ।’
त्रियुगा १६ बेलदोभानका हुकुम मगरलाई पनि धान भित्र्याउने बेलामा वर्षाले क्षति गरेकोमा चिन्ता लागेको छ । घर परिवार पाल्ने धान उनले आफ्नो १ बिगाहा जमिनमा पलाउने गरेका थिए । यसवर्ष पनि राम्रो उत्पादन हुने छाँटकाट थियो । तर, पाक्नै लागेको धान बाली लगातारको वर्षाले सबै ध्वस्त बनाएको गुनासो उनको छ । ‘निरन्तर परेको पानीले सबै खेतको धान पुरै भाँचिएर जमिनमा मिलाईदियो’ मगरले भने ‘यसवर्ष अचम्म गरि कात्तिकमा परेको पानीले धानबालीको यस्तो हालत बनायो ।’
शुक्रबार साँझदेखि फुसफुसाएको वर्षा रातिदेखि बढ्दै गएर बिहीबार र शुक्रबार दिनभरी निरन्तर भईरहेको छ । सामान्य खालको वर्षा भएकाले खासै असर नगर्ला भन्ने ठानेकोमा थाहै नपाई व्यापक क्षति गरेको स्थानीय बताउँछन । समथर र भित्रि मधेसक्षेत्र पर्ने भएकाले धान बालीको अन्न भण्डार मानिने त्रियुगा, छिमेकी चौदण्डीगढी र बेलका नगरपालिकाको पाक्न लागेको धान वर्षाले व्यापक क्षति गरेको छ ।
त्रियुगा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ नं. वडा सबै समथर भएकाले धान खेती राम्रो उत्पादन हुने क्षेत्र हो । पहाडी भेगमा पर्ने १४, १५ र १६ नं. का पनि बेँसी र खोँच क्षेत्रमा धान बाली लगाउने गरिएको छ । नगरापलिकाका सबै वडाको धानबाली वर्षाले क्षति गरेको नगरप्रमुख बसन्त बस्नेतले बताएका छन् । उनका अनुसार क्षतिको विवरण आईनसके पनि वर्षाले धान बालीमा अपुरणीय घाटा किसानलाई पारेको छ ।
उता १ र ८ नं. बाहेक सबै वडामा धान बाली लगाउने गरिएको चौदण्डीगढी नगरमा पनि उत्तिकै क्षति पुगेको छ । चौदण्डीगढी ६ का पूर्व वडाध्यक्ष कमलध्वज राईका अनुसार वर्षाले धानबाली जताततै क्षति गरेको छ । सबैतिर पाक्न लागेको धानबाली २ दिनयताको निरन्तर वर्षाले विनाश गरेको उनले बताए । यो वर्षाले किसानलाई आउदो वर्ष भोकमरीमा पार्ने निश्चित रहेको स्थानीय राजन चामलिङले बताए ।
मुख्य बाली धान लगाइने बेलका नगरपालिका र कटारी नगरपालिकामा पनि वर्षाले उत्तिकै क्षति गरेको छ । पहाडी भेग भए पनि निकै धान बाली लगाइने उदयपुरगढी, रौतामाई गाउँपालिकामा पनि क्षतिको समस्या उस्तै छ । कम धान खेती हुने ताप्ली र लिमचुङबुङमा पनि वर्षाले क्षति गर्न बाँकी नराखेको स्थानीयले बताएका छन् ।
कृषि ज्ञान केन्द्र उदयपुरले वर्षाले धान बालीमा व्यापक क्षति भएको खवर आएको जनाएको छ । अहिलेसम्म क्षतिको यकिन विवरण आईनसके पनि निकै धेरै क्षेत्रफल जमिनको धान बाली वर्षाले नष्ट गरेको अनुमान रहेको ज्ञान केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवले बताए । ‘अहिलेसम्म सबै विवरण त आईसकेको छैन, वर्षा अझै भईरहेकै छ’ यादवले भने ‘तर, ८ वटै स्थानीयतहमा वर्षाले धानबालीमा क्षति गरेको विवरण आईरहेको छ ।’
उनका अनुसार धान मात्र नभएर पहाडी भेगमा कोदो, फापर, गहुँ, जौ, बोडीलगायत बालीमा पनि वर्षाले धेरै क्षति गरेको खवर आईरहेको छ । ज्ञान केन्द्रका अनुसार यसवर्ष उदयपुरमा १२ हजार ९२५ हेक्टरमा धानखेती लगाइएको छ । समयमा वर्षा नभए पनि ढिलो चाँडो बेला नभिड्किदै रोपाँई सकिएकाले धान उत्पादन राम्रै हुने अनुमान गरिएको थियो । तर, बेमौसमी वर्षाले किसानले गरको अपेक्षा अनुसार धान उत्पादन हुन नदिएको हाकिम यादवले बताए ।
वर्षाले ठाउँठाउँमा सडक भत्काउने तथा पुर्ने गर्दा यातायात आवागमनमा पनि बाधा खडा गरेको छ । सामान्य वर्षा भए पनि निरन्तर दुईदिनदेखि भईरहँदा सडकहरु भत्कने, पहिरोले पुर्ने तथा हिलो जम्ने गर्दा यातायात आउजाउमा बाधा खडा भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले जनाएको छ ।
प्रकाशित: १४ कार्तिक २०८२ २१:४२ शुक्रबार





