आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा लक्ष्यभन्दा पौने ३४ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । विभागले प्रथम चौमासिकको साउनदेखि कात्तिक मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको हो ।
विभागले प्रथम चौमासिकमा एक खर्ब ९० अर्ब ४२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा एक खर्ब ५५ अर्ब ६९ करोड १८ लाख ७९ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यभन्दा ३४ अर्ब ७३ करोड ५५ लाख रुपैयाँ कम हो । विभागले लक्ष्यको ८१.७६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
विभागले गत आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकमा पनि लक्ष्यको कम राजस्व संकलन गरेको थियो । गत वर्ष एक खर्ब ७९ अर्ब ५८ करोड ६५ लाख ५२ हजार रुपैयाँ लक्ष्य रहेकोमा एक अर्ब ५० अर्ब ९७ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागले प्रथम चौमासिकमा विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आइरहेकोमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । विभागले आयकरमा ६८ अर्ब २७ करोड ६१ लाख ५४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ४८ अर्ब २५ करोड तीन लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसको ७०.६७ प्रतिशत राजस्व संकलन हुन आउँछ ।
घरबहाल कर ८८ अर्ब ६० करोड ६४ लाख रुपैयाँ लक्ष्य रहेकोमा ६२ अर्ब २७ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसको ७०.२९ प्रतिशत राजस्व संकलन भएको छ ।
यसैगरी ब्याजमा २४ अर्ब सात करोड २३ लाख ३४ हजार रुपैयाँ लक्ष्य रहेकोमा ११ अर्ब ९१ करोड ६६ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसको ४९.५ प्रतिशत राजस्व संकलन भएको छ ।
आन्तरिक उत्पादन शुल्कको लक्ष्य ४३ अर्ब ५५ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेकोमा ४२ अर्ब सात करोड ५० लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसको ९६.६१ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै स्वास्थ्य सेवाको ३२ अर्ब २४ करोड ६१ लाख ५० हजार रुपैयाँ लक्ष्य रहेकोमा २० अर्ब ६८ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा ६३.७१ प्रतिशत राजस्व संकलन गरेको छ ।
शिक्षामा १४ अर्ब ४३ करोड २१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १४ अर्ब ६० करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा १०१.१९ प्रतिशत राजस्व संकलन भएको छ ।
अन्यमा १७ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ४५ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसको २६२३.६४ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
प्रकाशित: २८ मंसिर २०८२ २०:१४ आइतबार





