देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।
भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ का लागि वीरगञ्ज भन्सार कार्यालयलाई दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। कार्यालयले भने वर्षभरिमा दुई खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। यससँगै लक्ष्यको ८९.१९ प्रतिशत मात्र उपलब्धि हासिल भएको तथा लक्ष्यभन्दा २९ अर्ब ५७ करोड रुपैयाँ कम राजस्व उठेको जानकारी वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले दिए।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा राजस्व संकलनमा उल्लेख्य सुधार भने देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले दुई खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षमा करिब १८ अर्ब रुपैयाँ बढी राजस्व उठेको हो। मैनालीका अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतको वृद्धि हो। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले दुई खर्ब ७९ अर्ब रुपैयाँको लक्ष्य पाएकोमा दुई खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ अर्थात् करिब ८० प्रतिशत मात्र राजस्व संकलन गरेको थियो।
आर्थिक वर्षको अन्तिम महिना असारमा भने वीरगञ्ज भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको छ। असारका लागि २१ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा कार्यालयले २२ अर्ब चार करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको मैनालीले बताए। कार्यालयको तथ्यांकअनुसार दैनिक औसत राजस्व संकलन लक्ष्य ७५ करोड १६ लाख रुपैयाँ रहे पनि वास्तविक औसत संकलन ७१ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।
प्रमुख भन्सार प्रशासक मैनालीले जेन–जेड आन्दोलन, एमआरपी लेबलसम्बन्धी विवाद, खाडी क्षेत्रमा उत्पन्न युद्धको प्रभाव तथा त्यसबाट व्यापारमा आएको मन्दीलगायत विभिन्न कारणले राजस्व संकलनमा असर परेको बताए। उनका अनुसार यिनै कारणले वार्षिक लक्ष्य हासिल गर्न कठिन भएको हो।
वीरगञ्ज नाकाबाट सडक र रेल दुवै माध्यमबाट आयात–निर्यात हुने व्यवस्था छ। कार्यालयको मुख्य राजस्व स्रोत आयातित वस्तुहरू हुन्। इन्धन, एलपी ग्यास, नयाँ सवारी साधन, फलामजन्य सामग्री, औद्योगिक कच्चा पदार्थ, मदिरा तथा विद्युतीय उपकरणबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ। निर्याततर्फ भने भटमास तथा सूर्यमुखीको तेल, जुस, जामलगायतका वस्तु प्रमुख रहेका छन्।
मासिक राजस्व संकलनतर्फ साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मंसिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड, जेठमा २२ अर्ब ३२ करोड र असारमा २२ अर्ब चार करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभरका भन्सार कार्यालयबाट कुल पाँच खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यसमध्ये ४६.४७ प्रतिशत लक्ष्य वीरगञ्ज भन्सार कार्यालयलाई दिइएको थियो । वार्षिक कुल राजस्व संकलनमा भने वीरगञ्ज भन्सार कार्यालयको योगदान ४१.४७ प्रतिशतमा सीमित रहेको कार्यालयले जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ ०९:३५ बिहीबार





