३० वैशाख २०८३ बुधबार
image/svg+xml
अर्थ

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीच सम्बन्ध नवीकरण

सम्बन्ध नवीकरणको खुसीयालीमा रमाउँदै स्थानीय सहित जापानी पाहुना। तस्बिरः नागरिक<br>

मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्धलाई दुईदशकपछि पुनः सक्रिय बनाइएको छ। यसअघि २०४७ मा पहिलोपटक यी गाउँबीच सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो।

तर, समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता सम्बन्ध निस्किृय बनेको थियो। स्थानीय तहको पुनःसंरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा समायोजन भएको थियो। त्यस्तै जापनाको तोगासिटी पनि अर्काे सहर नाम्तोमा गाभिएका कारणले दुई मुलुकका यी ठाउँबीच सम्बन्ध नवीकरणमा समन्वय भएको थिएन।  सम्बन्ध स्थापनाको सुरुवाती चरणमा भने सम्बन्ध राम्रो विकास भएको स्थानीयको भनाइ छ।  

टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाको पहलमा पुनः सम्बन्ध सुदृढ गराउने सहमति भएको हो। पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ। दुई मुलुकका दुई ठाउँबीचको सम्बन्धले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

सम्बन्ध स्थापित गर्ने क्रममा केहीदिन अघि जापानी टोली मुस्ताङ आएको थियो। त्यस क्रममा टुकुचे गाउँ र जापानको नाम्तो सिटीको तोगाका बिचमा मितेरी सम्बन्धको साँस्कृतिक मिलन उत्सव आयोजना गरिएको थियो। टुकुचेमा एक भव्य कार्यक्रमकाबीच भएको कार्यक्रम दुई दिनसम्म चलेको हो। टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेको थियो।  

कार्यक्रममा सहभागी हुनका लागि जापानको तोयामाका प्रेप्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्तो सिटीका मेयर मिकियो तानाका सहितको १८ सदस्यीय टोली टुकुचे आएको थियो। लामो प्रयासपछि पुनः सम्बन्ध स्थापित भएको उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाईएको स्थानिय समाजजेवी तथा टुकेचे तोका कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बताए।  

‘धेरै मेहनतपछि सम्बन्ध नविकरण भएको छ। बिचमा विभिन्न कारणले सम्पर्क टुटेको थियो। अब दुईवटा गाउँ बिचको प्रगाढ सम्बन्धले समग्र देशको समृद्धिमा सघाउ पुग्नेछ,’ उनले भने, ‘टुकुचे र तोगाका बीचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियो। त्यसपछि डेढ दशकसम्म दुई पक्षबिचमा सहयोग आदानप्रदान लगायतका सहकार्य र भ्रमण भएपनि त्यसपछि लामो समय सहकार्य हुन सकेको थिएन। बीचमा टुटेको सम्बन्ध अहिले जुटेको छ।’

मितेरी सम्बन्ध पछि टुकुचेका ७५ भन्दा बढि युवाले जापानमा गएर सीप सिक्ने मौका समेत पाएको वडाध्यक्ष सुरेश थकालीले बताए। यसका साथै टुकुचेको कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेको उनको भनाइ छ। रोकिएको सहकार्य पुनः अघि बढ्ने वडाध्यक्ष थकालीले बताए।  

नाम्तोका मेयर  मिकियो तानाकाले अबका दिनमा सम्बन्ध अझ बिस्तार हुने र दुईपक्षकाबीच सम्बन्ध अझ बलियो हुने बताए। कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजा सहित भव्य स्वागत गरिएको थियो। कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नका लागि अगुवाई गरेका समाजसेवी अर्जुनसिँह तुलाचन र नाम्तोका मेयर मिकियोलाइ सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रम समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धौलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट सम्मान सम्मान गरिएको थियो।  

उत्सव अन्तरगत जापानी पाहुनालाई साँस्कृतिक कार्यक्रम, तारो हान्ने खेलकुद, विद्यार्थीको नृत्य प्रदर्शन गराउँदै टुकुचेका विभिन्न गाउँको भ्रमण गराइएको थियो। नाम्तोको टोलीले टुकेचेका विभिन्न विद्यार्थीलय, गुम्वा तथा गाउँपालिका भवनको समेत अवलोकन गरेको थियो।  

प्रकाशित: ३ वैशाख २०८३ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App