रसुवामा आएको बाढीले मानवीयसँगै ठुलो भौतिक क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो बाढीले घरदेखि सडक, पुल, विद्यालय र स्वास्थ्य संस्थासम्म क्षति पुर्याएको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट सात हजार ५७० निजी घरमा क्षति पुगेको छ। बाढीबाट भएको कुल आर्थिक नोक्सानी तीन खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
बाढीले ४८ सरकारी संरचना, १८ विद्यालय र सात स्वास्थ्य संस्था पनि क्षतिग्रस्त भएका छन्। त्यस्तै, ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्राधिकरणले जानकारी दिएको छ। बाढीले पुलमा पनि ठूलो क्षति पुर्याएको छ। ३७ मोटरेबल पुलमध्ये ३३ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ६८ झोलुंगे पुलमा पनि क्षति पुगेको छ।
प्राधिकरणको प्रारम्भिक अनुमानअनुसार प्रभावित क्षेत्रको तत्काल पुनर्लाभका लागि सात अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्नेछ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै प्रभावित क्षेत्रको जनजीवन सामान्य अवस्थामा फर्काउन पुनर्लाभका काम अघि बढाउनुपर्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०८३ १४:५६ शुक्रबार





