१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

१३ वर्षमै विवाह गरेका शर्मा जीवनभर पछुताइ रहेछन्

जुम्लाको सिंजा गाउँपालिका–२ रनुखाना गाउँका ७२ वर्षीय मनप्रसाद शर्मा अहिले विगत सम्झँदा गहिरो पश्चात्तापमा डुब्छन्। उनी आफैँ १३ वर्षका हुँदा ११ वर्षीया बालिकासँग विवाह गरेका थिए। बाल्यकालमै सुरु भएको वैवाहिक जीवनका कारण आफू र परिवारले जीवनभर अनेकौँ पीडा भोग्नुपरेको उनी बताउँछन्।

‘बालविवाह गर्दा निकै कष्ट भोग्नुपर्‍यो,’ शर्मा भन्छन्, ‘बालविवाहको असर अहिले देखिन थालेको छ। निकै पश्चात्तापमा छु।’

उनका अनुसार विवाह भएको केही समयमै उनकी श्रीमती १२ वर्षको उमेरमा गर्भवती भइन्। प्रजनन क्षमता पूर्ण रूपमा विकास नभएको अवस्थामा गर्भवती हुँदा स्वास्थ्यमा अनेक समस्या देखिएको उनी सम्झन्छन्।

‘बालविवाह समाजको कुरीति मात्र होइन, ठूलो अपराध पनि हो,’ उनी भन्छन्, ‘धेरै महिला तथा आमाहरूले कम उमेरमा विवाह गर्दा अकालमै ज्यान गुमाउनुपरेको छ। हामीले पनि सानै उमेरमा विवाह गर्दा धेरै दुःख पायौँ।’

बालविवाहकै कारण आफू शिक्षाबाट समेत वञ्चित भएको उनको भनाइ छ। श्रीमतीको पाठेघरमा समस्या देखिनुका साथै बच्चा जन्माउन निकै कठिनाइ भएको उनी बताउँछन्।

‘यो सबै बालविवाहको परिणाम थियो। अहिले आएर बुझिरहेको छु,’ शर्माले भने।

आफैँले बालविवाहको पीडा भोगिसकेका शर्मा अब नयाँ पुस्तालाई कम उमेरमा विवाह नगर्न सम्झाउँछन्। आफ्ना छोराछोरीदेखि छरछिमेकका बालबालिकासम्मलाई बालविवाहका असरबारे निरन्तर सचेत गराउँदै आएका छन्।

‘मैले त दुःख पाएँ, सन्ततिलाई बालविवाह गर्न दिन्नँ’

सिंजा गाउँपालिका–१ की बिउरी सार्कीले पनि ११ वर्षकै उमेरमा विवाह गरिन्। उमेर नपुग्दै विवाह र मातृत्वको जिम्मेवारीमा पर्नुपर्दा आफूले धेरै पीडा भोग्नुपरेको उनी बताउँछिन्।

‘सानै उमेरमा विवाह गरियो,’ उनी दुःख पोख्छिन्, ‘बालविवाह गर्दा धेरै दुःख पाएँ। अहिले स्वास्थ्य अवस्था पनि नाजुक छ।’

प्रजनन क्षमता पूर्ण रूपमा विकास नहुँदै बच्चा जन्माउनुपर्दा अनेकौँ स्वास्थ्य समस्या झेल्नुपरेको उनको अनुभव छ। समयसँगै स्वास्थ्यमा समस्या थपिँदै गएपछि बालविवाहको निर्णयले जीवनभर पछ्याइरहेको उनी बताउँछिन्।

‘मैले त बालविवाह गरेर दुःख पाएँ,’ उनी भन्छिन्, ‘मेरो सन्ततिलाई भने बालविवाह गर्न दिन्नँ।’

सिंजा गाउँपालिका–६ की ७१ वर्षीया पुन्नकली बुढाको अनुभव पनि फरक छैन। पुरानो पुस्ताकी प्रतिनिधि पात्र बुढाले १० वर्षकै उमेरमा विवाह गरेकी थिइन्। उमेर नपुग्दै विवाह र मातृत्वको चक्रमा फस्दा उनले जीवनभर पीडा भोग्नुपर्‍यो। उनका दुई छोरा गुमे भने एक गर्भ खेर गएको थियो।

‘हामीले दुःख पायौँ, अब छोरीबुहारीले त्यही पीडा भोग्न नपरोस्,’ उनी भन्छिन्, ‘कम उमेरमा विवाह गर्नु भनेको भविष्यसँग खेलबाड गर्नु हो।’

शर्मा, सार्की र बुढा प्रतिनिधि पात्र मात्र हुन्। सिंजा गाउँपालिकामा बालविवाह गरेर जीवनभर शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक पीडा भोगिरहेका थुप्रै व्यक्ति भेटिन्छन्।

दलित बस्तीमा बढी समस्या

छ वटा वडामा विभाजित सिंजा गाउँपालिकामा दलित, ठकुरी, बाहुन र क्षेत्री समुदायको बसोवास छ। स्थानीयको अनुभव र सरोकारवालाको भनाइअनुसार अन्य समुदायको तुलनामा दलित बस्तीमा बालविवाहको समस्या बढी देखिन्छ।

गाउँमा बालविवाह भइरहे पनि कानुनी कारबाहीका लागि प्रहरीमा उजुरी भने नपर्ने गरेको छ। सिंजा गाउँपालिका–३ स्थित इलाका प्रहरी चौकी नराकोटका प्रहरी निरीक्षक कृष्णबहादुर बुढाका अनुसार क्षेत्रमा बालविवाहका घटना देखिए पनि उजुरीका रूपमा प्रहरीसम्म पुग्ने गरेका छैनन्।

‘बालविवाह धेरै भएको देखिन्छ,’ उनले भने, ‘तर प्रहरीमा उजुरीका रूपमा आउने गरेको छैन।’

शिक्षा र जनचेतनाको अभाव तथा गरिबीका कारण दुर्गम क्षेत्रमा अझै बालविवाहको समस्या कायम रहेको सरोकारवालाहरू बताउँछन्। बालविवाहका कारण बालबालिका सानै उमेरमा विवाह गरेर शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार उमेर नपुग्दै आमा बन्नु, गर्भसम्बन्धी जटिलता, कम तौलका शिशु जन्मिनु तथा प्रजनन स्वास्थ्यमा समस्या देखिनुजस्ता विषयमा बालविवाह प्रमुख जोखिमका रूपमा रहेको छ।

पहिले अशिक्षा र परम्पराका कारण बालविवाह हुने गरे पनि अहिले विज्ञान र प्रविधिको दुरुपयोगका कारण बुझेर पनि बालविवाह हुने गरेको जनप्रतिनिधिहरू बताउँछन्।

बालविवाह कुरीति मात्र होइन, कानुनी अपराध पनि

सिंजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार बालविवाह सामाजिक कुरीति मात्र नभई कानुनी अपराध पनि हो। यसलाई सामाजिक रूपमा अस्वीकार गर्दै समुदायस्तरबाटै अन्त्य गर्नुपर्ने उनको धारणा छ।

‘बालविवाह सामाजिक कुरीति हो। यसलाई सामाजिक रूपमै बहिष्कार गर्नुपर्छ,’ उनले भने, ‘अहिले बालविवाह अपराध हो भन्ने धेरैले बुझिसकेका छन्। गाउँमा बालविवाह अन्त्य गर्न केन्द्रित कार्यक्रम सञ्चालन भइरहेका छन्।’

उनका अनुसार वडामा धामीझाँक्री, युवा क्लब, बालक्लब, विद्यार्थी, मुग्लेरी, महिला र पुरुषसँग व्यापक छलफल गरिएको थियो। त्यसपछि वडा नम्बर ६ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो।

‘जनप्रतिनिधि र समुदाय तनमनबाट लाग्ने हो भने बालविवाहलाई पूर्ण रूपमा अन्त्य गर्न नसकिए पनि न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने।

गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख बसना बुढाका अनुसार बालविवाह रोक्न गाउँगाउँमा बाल क्लब गठन गरी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

उनका अनुसार बालविवाह गर्ने परिवारलाई वडाबाट प्रदान गरिने सार्वजनिक सेवामा रोक लगाउनेदेखि विवाहलाई सामाजिक रूपमा बहिष्कार गर्ने संस्कार विकास गर्न प्रयास भइरहेको छ।

सिंजा गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ लाई बालविवाहमुक्त वडा घोषणा गरिसकिएको छ। वडा नम्बर १ र ५ लाई पनि छिट्टै बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। बालविवाहमुक्त वडा घोषणा गर्न विभिन्न १५ वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था छ।

पाँच वर्षमा बालविवाहको अवस्था

सिंजा गाउँपालिकाको तथ्यांकले पछिल्ला वर्षमा बालविवाहको अवस्था उतारचढावपूर्ण रहेको देखाउँछ।

सन् २०२१ मा गाउँपालिकामा कुल १ सय ६० वटा विवाह भएका थिए। तीमध्ये १ सय १७ वटा बालविवाह थिए, जुन कुल विवाहको ७३ प्रतिशत हो।

सन् २०२२ मा कुल १ सय ४१ वटा विवाहमध्ये ६७ वटा बालविवाह भएको तथ्यांक छ। त्यो वर्ष बालविवाहको अनुपात ४८ प्रतिशत थियो।

सन् २०२३ मा कुल १ सय ३९ विवाहमध्ये ३९ वटा बालविवाह भएको थियो। अर्थात् बालविवाहको अनुपात २८ प्रतिशतमा झरेको देखिन्छ।

सन् २०२४ मा जम्मा २ सय ६५ वटा विवाह भएकोमा ३३ वटा बालविवाह भएको थियो। त्यो वर्ष बालविवाहको अनुपात १२ प्रतिशतमा सीमित भएको गाउँपालिकाको तथ्यांकले देखाउँछ।

तर सन् २०२५ मा भने बालविवाह फेरि बढेको देखिएको छ। उक्त वर्ष कुल २ सय ३७ वटा विवाहमध्ये ६० वटा बालविवाह भएको तथ्यांक छ। अर्थात् बालविवाहको अनुपात २५ प्रतिशत पुगेको छ।

बालविवाह न्यूनीकरणमा प्रगति भए पनि पछिल्लो तथ्यांकले चुनौती अझै कायम रहेको देखाएको सरोकारवालाहरू बताउँछन्।

बालबालिकाप्रति अभिभावकको गैरजिम्मेवारी, सामाजिक सञ्जाल र मोबाइल प्रविधिको दुरुपयोगले पनि बालविवाह बढाउन भूमिका खेलेको जानकारहरूको भनाइ छ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँमा अभिभावक काममा बढी व्यस्त हुने, छोराछोरीलाई मोबाइल फोन दिने तर उनीहरूको गतिविधिमा पर्याप्त निगरानी नगर्ने प्रवृत्तिले पनि समस्या बढाएको छ।

‘बालविवाह सामाजिक कुसंस्कार र अपराध हो,’ अध्यक्ष धितालले भने, ‘यी सबै मानिसले नै समाजमा उत्पन्न गरेका समस्या हुन्। त्यसैले समुदायबाटै न्यूनीकरण गर्दै निर्मूल गर्न आवश्यक छ।’

बालविवाहले शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले कानुन कार्यान्वयनसँगै सामाजिक रूपमा पनि यसलाई अस्वीकार गर्नुपर्ने उनले बताए।

‘बालविवाह समाजबाटै निर्मूल पार्न नागरिकदेखि सबै सरोकारवाला निकाय जुट्नुपर्छ,’ उनले भने, ‘कानुन कार्यान्वयनमा पनि बढी जोड दिन आवश्यक छ।’

२४ वडा बालविवाहमुक्त

सन् २०१८ देखि सिंजा क्षेत्रमा बालविवाह न्यूनीकरण तथा छाउपडी प्रथा न्यूनीकरणका क्षेत्रमा क्याड नेपालले काम गर्दै आएको छ। क्याड नेपालको ‘सशक्त बालिका, सुरक्षित समुदाय’ परियोजनाले बालविवाहमुक्त गाउँ निर्माणका लागि सहयोग गर्दै आएको छ।

क्याड नेपाल जुम्लाका परियोजना संयोजक राजेशप्रकाश यरीका अनुसार समुदायमा पटकपटक बालविवाहका असर, कानुनी सजाय तथा ढिलो विवाह गर्दाका फाइदाबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। बाल क्लब, युवा समूह, महिला समूह तथा समुदायस्तरमा छलफल र परामर्शमार्फत बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिइएको उनले बताए।

जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका ६० वटै वडामा बालविवाहको समस्या देखिएको सरोकारवालाहरू बताउँछन्। जिल्लामा हालसम्म २४ वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन्। अझै ३६ वटा वडा घोषणा हुन बाँकी छन्।

नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह मानेको छ। मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार बालविवाह गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त मुलुक बनाउने लक्ष्य लिएको छ।

प्रकाशित: १९ भाद्र २०८३ २०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App