महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख सहयोग गर्ने निर्णय गरेको छ। बाढी प्रभावितको राहत, उद्धार एवं पुनःस्थापनामा रु ३१ लाख ३५ हजार १३४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेकोे नगरपालिका प्रमुख रामदुलार साहले बताए।
‘राहतका लागि नगर बजेटको आन्तरिक स्रोत, जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको योगदान रहेको छ’, नगरप्रमुख साहले भने ,‘यस्ता विपद्मा मन खोलेर सहयोग गर्न सबैपक्षसँग अपिल गरेका छौँ।’
यसअघि गौशाला, बर्दिबास, भङ्गाहा, औरही र मटिहानी नगरपालिकाले बाढी प्रभावितको सहयोगका लागि रु ४७ लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकेको जानकारी दिइएको छ। महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन्।
प्रकाशित: १८ भाद्र २०८३ ११:०१ बिहीबार





