खोटाङमा निरन्तरको वर्षाले खेतमा पाकेर थन्क्याउने बेलाको धान बाली सबै नष्ट पारेको छ । पहेँलपुर पाकेर भित्र्याउने बेलाको धान तीन दिनदेखिको अविरल वर्षाले क्षतिग्रस्त पारेको छ ।
वर्षभरी खाने कमाई यसरी वर्षाले क्षति गरेपछि किसानलाई आउदो वर्ष चर्को अनिकालको पीरलो भएको किसानले गुनासो गरेका छन् ।
खोटाङका १० वटै स्थानीय तहमा पाकिसकेको धान बालीमा क्षति पुगेको छ । ‘पाकिसकेको सबै धान भित्र्याउने बेला यस्तो वर्षा हुन्छ भन्ने कसैले सोँचेकै थिएनौँ’ दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ का उमेश बस्नेतले भने ‘खेतमा पाकेको धान दसैँ, तिहारको चाडबाडले गर्दा थन्क्याउन भ्याएका थिएनौँ । काट्न मात्र थालेको, वर्षाले जखमै पार्यो ।’
उनको जस्तै छ हलेसी तुवाचुङ ३ च्यास्मीटारका मञ्जु राईको व्यथा । १३ रोपनी क्षेत्रफल खेतमा लहलह झुलेर पहेँलपुर पाकेको धान वर्षाले सबै नष्ट गरेपछि उनी पीडित भएकी छ्न । ‘यही खेतको धान ९ महिनासम्म खान पुग्थ्यो’ उनले भनिन् ‘अरु ३ महिना मकै र कोदो खाइन्थ्यो । तर, यसपालि वर्षाले गर्नसम्म गर्यो ।’
सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका चेतनाथ आचार्यलाई पनि उस्तै पीडाले सताएको छ । यो वर्ष ३५ रोपनी खेतमा उनले लगाएको धानबाली पाक्नै लागेको बेला निरन्तरको वर्षाले ढालेर सोत्तर बनाएको छ ।
वर्षाले जताततै किसानलाई हानी गरेपछि अब सरकारले केही राहतको व्यवस्था मिलाई दिनुपर्ने माग जिल्लाबासीको छ । ‘मुख्य खाने धान बाली नै यसरी प्राकृतिक प्रकोपले नष्ट पारेपछि जनताले गुहार्ने सरकारलाई नै हो’ साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भने ‘वर्षाले गरेको क्षतिको मूल्याङ्कन गरेर सक्दो सहयोग गर्न तीनवटै तहका सरकार लागी पर्नुपर्छ ।’
रावाबेँसी, केपिलाशगढी, ऐँसेलुखर्क, खोटेहाङ, बाराहापोखरीमा पनि वर्षाले त्यत्तिकै धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले सबैतिरको अन्न वर्षाले क्षति गरेको जनाउँदै सबभन्दा बढी धानबाली नष्ट गरेको जनाएको छ । ज्ञान केन्द्रका अनुसार यसवर्ष खोटाङका २ नगर र ८ गाउँपालिका गरि १० स्थानीयतहमा ९ हजार ९ सय ८८.०३ हेक्टर जमिनमा धान खेती लगाइएको छ ।
केन्द्रले सबै क्षतिको विवरण आईनसकेको र अझै वर्षा नरोकिएकाले करोडौँको धान बाली नष्ट गरेको अनुमान गर्न सकिने जनाएको छ ।
जिल्लामा वर्षेनी साढे २५ हजार बढी मेट्रिक टन धान उत्पादन हुने गरेको खोटाङमा यो वर्षाले ७० प्रतिशत हिस्सा भने माटोमै मिलाईदिएको किसानलाई उद्धृत गर्दै ज्ञान केन्द्रले जनाएको छ । केही समयअघि वा १५ दिनपछि मात्र वर्षा भएको भए पनि यत्ति धेरै क्षति नहुने अनुमान केन्द्रको छ ।
निरन्तरको वर्षाले अन्य अन्नबालीमा पनि क्षति पुगेको छ । पाक्न लागेको कोदो, फुल्दै गरेको बोडी, फक्रन लागेको फापर, गहुँ र अन्य दलहन तेलहन बालीका लागि पनि यो वर्षा अभिसाप सावित भएको जिल्लाबासीले गुनासो गरेका छन् ।
प्रकाशित: १५ कार्तिक २०८२ २०:३९ शनिबार





