जेन-जी आन्दोलनबाट भएको तोडफोडले राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने महासंघको दाबी छ । ‘आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिनुपर्छ,’ महासंघले भनेको छ ।
महासंघले व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाले चिन्तित बनाएको भन्दै घटनाको निन्दा गरेको छ । आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सबैको ध्यानाकर्षण गराउँदै उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव भएको बताउँदै स्थायित्वका लागि युवाहरूको चाहना अनुरूप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चित गर्न आग्रह गरेको छ । लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघले आग्रह गरेको छ ।
विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा गरेको महासंघले जनाएको छ । नवनिर्माण एवं पुर्ननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको उल्लेख गर्दै उद्यम व्यवसायको निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघले आग्रह गरेको छ ।
जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता मार्पmत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठुला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ ।
पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । आवतजावत एवं वस्तुहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणको लागि पनि आग्रह गरेको छ ।
यसै गरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्पm देशैभरका सबै उद्यमी व्यवसायीहरूमा आग्रह गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेका छन् ।
अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघ आग्रह गर्दछ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास लिएको महासंघले जनाएको छ ।
प्रकाशित: २७ भाद्र २०८२ १८:५२ शुक्रबार





