१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

स्वदेशी उद्यमशीलताबाट मात्रै समृद्धि सम्भव छट उद्योगी व्यवसायी

राजनीतिक अस्थिरता, नीतिगत अन्योल र स्वदेशी उत्पादनप्रति राज्यको उदासीनताका कारण नेपालको अर्थतन्त्र गम्भीर संकटतर्फ धकेलिएको यहाँका उद्योगी व्यवसायीले बताएका छन । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सम्पन्न ‘समृद्ध नेपालको आधारः स्वदेशी उद्यमशीलताको विस्तार– समस्या र समाधान’ विषयक अन्तरक्रियामा सहभागी उद्योगी व्यवसायी तथा अर्थशास्त्रका जानकारहरुले सो कुरा बताएका हुन । स्वदेशी उद्यमशीलताको विकास र विस्तारले मात्रै समृद्ध  अर्थतन्त्रको आधार  तयार पार्नेमा उनीहरले जोड दिए । स्वदेशी उत्पादन तथा उद्यमशीलताको सम्मान, स्थिर नीति र कार्यान्वयनमुखी दृष्टिकोण बिना समृद्धि सम्भव नरहेको उनीहरुले बताएका हुन ।  

कार्यक्रममा अर्थविद डा केशव आचार्यले अर्थतन्त्र बाहिर चम्किलो तर भित्र कमजोर बन्दै गएको बताए । बाहिरी सूचक राम्रो देखिए पनि भित्री अर्थतन्त्र कमजोर बनेको भन्दै सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए । नेपालमा उद्यमशीलतालाई सम्मान गर्ने संस्कार नै नभएको भन्दै उनले निजी क्षेत्रमाथिको आक्रमण प्रति  राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । डा आचार्यले जलविद्युत उद्योग र उत्पादनमूलक क्षेत्रमा निजी क्षेत्रको आशा हुँदाहुँदै पनि दलनिकट हस्तक्षेपका कारण धेरै उद्यमी हतोत्साहित भएको बताए । ‘हिजो निर्यात गरिरहेका उद्योग किन धराशायी भए भन्ने विषयमा गहिरो आत्मसमीक्षा गरीनुपर्छ’ अर्चायले भने ।  

नेपाल उद्योग परिसंघका अध्यक्ष ई वीरेन्द्र पाण्डेले पछिल्लो समय निजी क्षेत्रको मनोबल निकै खस्किएको बताए । ‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै सकारात्मक छैन, राजनीतिक अस्थिरता बढ्नुको  मुख्य दोषी निजी क्षेत्र हो जस्तो व्यवहार गरिन्छ’ पाण्डेले भने ।  संघले स्वदेशी उत्पादन प्रवद्र्धनकै लागि बुटवलमा मेलाको आयोजना गरेको भन्दै उनले मेड इन नेपाल अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।  

राष्ट्र बैंककी कामु गर्भनर डा. निलम ढुंगानाले नकारात्मक पक्ष मात्रै चर्चामा आएको र राम्रा पक्ष ओझेलमा परेको बताइन । उनले राजनीतिक प्रभावले अर्थतन्त्रमा असर पार्ने कुरा स्वाभाविक भएपनि आत्तिइहाल्नु पर्ने अवस्था नरहेको बताइन । ‘परिसूचक राम्रा छन, विदेशी विनिमय सन्तुलन ठीक छ, मुद्रास्फीति भारतभन्दा कम छ, तर राजस्व र खर्च उत्साहजनक छैन’ डा ढुगानाले भनीन ।  ब्याजदर न्यूनतम भए पनि कर्जा माग घटदा  बैंकमा रकम थुप्रिनेअवस्था रहेको बताइन । अर्थनीतिमा सुधार को आवश्यकता रहेको औल्याउदै उनले भननी ‘आर्थिक इकोसिस्टम सुधार, उद्योग र कृषि उपजको संरक्षण, सीमित वस्तुमा लक्षित संरक्षण नीति, धार्मिक पर्यटनको ब्राण्डिङ र डिमाण्ड क्रियसनमा ध्यान दिनु पर्ने आवश्यकता देखिएको छ’ ।  

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्ली अर्यालले प्रदेश सरकारले तथ्यमा आधारित रहेर कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर बजेट बनाइएको बताए ।  प्रदेशको दायरा सीमित भएकाले  केन्द्र सरकारमा निर्भर रहनु पर्ने अवस्था रहेको उनले बताए । निजी क्षेत्रसँग सहकार्य गर्दै अनुसन्धानमूलक कार्यक्रम अघि बढाउनुपर्ने र संघीय संरचनाप्रतिको वितृष्णा कम गर्नुपर्नेमा उनले जोड दिए ।

अन्तरसंवादका सहभागीहरुले भएका नीति तथा ऐन कानु कार्यान्वयनको अवस्था फितलो हुँदा समस्या भएको औल्याएका थिए । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले स्वदेशी उत्पादन तथा उद्यमशीलताको सम्मान, स्थिर नीति, अन्तरनिकायगत समन्वय र कार्यान्वयनमुखी दृष्टिकोण बिना समृद्धि सम्भव नरहेको बताए ।  उद्यमी समुन्द्र घिमिरेले अव गाउँ फर्क अभियान संचालन गर्नु पर्ने, रैथाने उत्पादनको ब्राण्डिङ र धार्मिक पर्यटनको क्षेत्रलाइ विशेष योजना सहित पुर्नजीवन दिन सके त्यसले अर्थतन्त्रलाइ बलियो बनाउने बताए ।  

उद्योग वाणिज्य संघ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले स्वदेशी उत्पादन प्रयोगको कठोर नीति आउन नसक्नुमा सरकार र उपभोक्ता दुवै दोषी रहेको बताए । उद्योगी निश्चल खनालले सरकारी कार्यालयमै स्वदेशी उत्पादनको प्रयोगलाइ बेवास्ता गरिएको तितो यर्थात रहेको बताए ।  उद्यमी मन्जु भुसालले निर्माण व्यवसायीले भुक्तानी र धरौटी रकम नपाएर ठूलो संकट भोगिरहेको बताइन ।  

नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी अध्यक्ष टंक पोखरेलले सरकार फेरिँदा योजना फेरिने प्रवृत्तिले निजी क्षेत्र हैरान भएको  बताए । उद्योगी बालाराम भट्टराईले नीतिगत कमजोरीकै कारण रोजगारी र राजस्व दुवै गुम्ने अवस्था सिर्जना भएको बताए । रुपन्देही उद्योग संघका महासचिव सुमन बस्यालले अन्तरसंवाद कार्यक्रम मार्फत स्वदेशी उद्यमशीलताको भविष्यबारे गम्भीर बहसको खाका कोरेको बताए । रुपन्देही उद्योग संघले बुटवलमा संचालन गरेको १६ औं राष्ट्रिय औधोगिक प्रदर्शनी तथा कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरीएको हो ।

प्रकाशित: १६ पुस २०८२ १८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App