ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराह क्षेत्रलाई जोगाउन सरकारले विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम अघि बढाउने बताएका छन्।
कोशी र मधेस प्रदेशमा ऊर्जा तथा जलस्रोतका आयोजना निरीक्षण तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने क्रममा बराह क्षेत्र पुगेका मन्त्री श्रेष्ठले मन्दिरका पुजारी, जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीसँगको छलफलमा बराह क्षेत्र संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
मन्त्री श्रेष्ठले बर्सेनि कोशी नदीको कटान र नदीसँगै बगेर आउने गेग्रानका कारण बराह क्षेत्र धाम जोखिममा पर्दै गएको भन्दै यसको संरक्षणका लागि आवश्यक प्राविधिक अध्ययन तत्काल अघि बढाउने बताए। उनले भने, ‘बराह क्षेत्र धार्मिक आस्थाको महत्वपूर्ण धरोहर हो। यसलाई कोशीको कटानबाट जोगाउन सरकार गम्भीर छ। मन्दिर व्यवस्थापन समितिले यसअघि गरेको अध्ययनलाई मन्त्रालयका विज्ञ तथा प्राविधिक टोलीबाट अध्ययन गराएर त्यसैका आधारमा काम गर्न सकिने भए तत्काल कार्य अघि बढाइनेछ। थप अध्ययन आवश्यक देखिए त्यसलाई समेत छिटो पूरा गरी नदी नियन्त्रणको कार्ययोजना कार्यान्वयनमा लगिनेछ।’
मन्त्री श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रममार्फत बराह क्षेत्र संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा नदी व्यवस्थापनका काम अघि बढाइनेछ।
छलफलमा सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठले कोशी नदीको कटान र बाढीसँगै आउने गेग्रानका कारण बराह धाम, चतरा लगायतका क्षेत्रमा बर्सेनि क्षति भइरहेको भन्दै नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिन्।
त्यस्तै, मन्त्रालयका सचिव सरिता दवाडीले कोशी नदीको कटान नियन्त्रणका लागि सरकारले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै बराह क्षेत्रको संरक्षणका लागि पनि योजनाबद्ध कार्यक्रम अघि बढाइने बताइन्। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठले मन्दिर व्यवस्थापन समितिले तयार गरेको डीपीआर विभागले अध्ययन गर्ने जानकारी दिए। उनले प्राविधिक अध्ययनबाट थप काम आवश्यक देखिए त्यसअनुसार नयाँ अध्ययन गरी बराह क्षेत्र संरक्षणका लागि तटबन्ध तथा नदी नियन्त्रणका संरचना निर्माण गरिने बताए।
कोशी र कोका नदीको संगममा अवस्थित बराह क्षेत्र नेपालको प्राचीन धार्मिक तथा सांस्कृतिक तीर्थस्थलमध्ये एक हो। भगवान् विष्णुले बराह अवतार धारण गरी पृथ्वीको उद्धार गरेको धार्मिक विश्वाससँग जोडिएको यस क्षेत्रको महिमा विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ। बराह क्षेत्रमा वर्षभरि देश तथा विदेशबाट श्रद्धालुहरू पूजाआजा तथा स्नानका लागि आउने गर्छन्।
धार्मिक आस्था र पौराणिक महत्वसँगै सप्तकोशीको प्राकृतिक सौन्दर्यका कारण बराह क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण गन्तव्यका रूपमा रहेको छ।
प्रकाशित: ९ भाद्र २०८३ १०:०२ मंगलबार





