२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

सिमरा सेजका सात उद्योगको उत्पादन बजारमा

बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा सञ्चालन गरिएका सात उद्योगले आफ्ना उत्पादन बजारमा बिक्री वितरण गर्न सुरु गरेका छन्। त्यसै गरी ११ उद्योग भने निर्माणको अन्तिम चरणमा रहेका छन्।

सञ्चालनमा आएका र निर्माणको अन्तिम चरणमा रहेका उद्योगसमेत गरी पाँच अर्ब जति लगानी गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ।

सिमरा सेजका साइड इन्चार्ज रामसिंह मालले सेजमा निर्माण गरिएका सात उद्योगले आफ्ना उत्पादन बिक्री वितरण गरिरहेको बताएका छन्। सञ्चालनमा अएका ती उद्योगहरूमा नेपाली र विदेशी नागरिकको लगानीमा रहेको उनले बताए।

सिमरा सेजमा सञ्चालनमा आएका उद्योगमध्ये टायल उत्पादन गर्ने पशुपति सेरामिक्स ए टी एस ठुलो र बढी लगानीको उद्योग रहेको मालले बताए। उत्पादन सुरु गरेका उद्योगहरूमा अहिलेसम्म ८०० जनाभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगारी पाएको उनले बताए।

भारतको एजिएल समूह र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा नेपोभिट सेरामिक्स प्रालि उत्पादनको प्रक्रियामा छ। यो उद्योगले टायल उत्पादन गरेर बिक्री वितरण गर्ने जनाइएको छ। अर्काे टायल उत्पादन गर्ने पशुपति सेरामिक्स सञ्चालनमा आएकाले त्यहाँका उत्पादन बजारमा बिक्री वितरण गरिरहेको सिमरा सेजले जनाएको छ। न्युजिल्यान्डका नागरिकको लगानीमा बायो कम्प नेपाल नामको उद्योग पनि सञ्चालन गरिएको छ।

जुत्ता उत्पादन गर्ने ब्रिलिएन्ट सुज प्रालि, ग्रेनाइट उत्पादन गर्ने लक्ष्मी ग्रेनाइट, पंखा, चुलो आदि उत्पादन गर्ने बालाजी म्यानुफ्याक्चरिङ, कृषि उपकरण उत्पादन गर्ने नेपाल एग्रो टुल्स लगायतका उद्योग सञ्चालनको क्रममा रहेको इन्चार्ज मालले बताए। सिमरा सेजको ए ब्लकमा रहेको ६८ वटा प्लटमध्ये ६७ प्लट भाडामा लगाइएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ।

विदेशी लगानीका उद्योग बढी

सिमरा सेजमा सञ्चालनमा आएका वा निर्माणाधीन रहेका उद्योगहरूमा नेपाली लगानीकर्ताभन्दा विदेशी लगानीकर्ताको लगानी रहेका उद्योगहरू बढी रहेका छन्।

सञ्चालनमा आएका वा निर्माणको अन्तिम चरणमा रहेका १८ वटा उद्योगमध्ये ११ वटा उद्योगमा विदेशी नागरिकको लगानी रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का वरिष्ठ सूचना प्राविधिक सागर सिलवालले बताएका छन्।

कुनै उद्योगमा विदेशी नागरिकले पूर्ण रूपले एक्लै लगानी गरेका छन् भने कुनैमा नेपाली नागरिकसँग मिलेर संयुक्त लगानी गरेको सिलवालले बताए। दक्षिण कोरियाली लगानीकर्ता रहेको केमेक्स हिमालय उद्योग निर्माणाधीन अवस्थामा छ। शृंगारका सामग्री उत्पादन गर्ने यो उद्योग भवन निर्माण गर्ने कार्यमा पनि जुटेको छ।

नेपाली र भारतीय लगानीकर्ताको संयुक्त लगानीमा रेम्बो ग्रेनाइट प्रालि अहिले निर्माणाधीन अवस्थामा छ । ग्रेनाइट उत्पादन गर्ने यस उद्योगको मेसिन राख्न भवन र गोदामहरू निर्माण गरिसकिएको छ।

नेपाली र भारतीय लगानीकर्ताको संयुक्त लगानीमा पाम तेल उत्पादन गर्ने इन्डो एग्रो पनि हाल सेज परिसरमा निर्माणाधीन अवस्थामा छ। पूर्णतया भारतीय लगानीकर्ताको लगानीमा रहेका ग्रेनाइट उत्पादन ओमकार प्रालि र चिनियाँ लगानीकर्ताको लगानीमा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने ग्याङ उइङ बायो टेक्नोलोजी नाम गरेको उद्योग पनि निर्माणधीन अवस्थामै छ।

यसैगरी नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा आल्मुनियम उत्पादन गर्ने ला डी कर प्रालि उद्योग पनि निर्माणकै क्रममा रहेको छ। यस्तै भारतीय लगानीकर्ताको लगानीमा डाइपर र सेनिटरी प्याड उत्पादन गर्ने ओम मेगा श्री प्रालि पूर्वाधार निर्माणमासमेत जुटेको छ। साथै भारतीय लगानीकर्ताको लगानीमा मसला उत्पादन गर्ने ‘मा तारा प्रालि’ उद्योगसमेत निर्माणधीन अवस्थामा छ।

यसैगरी चिनियाँ लगानीकर्ताको लगानी रहेको विद्युतीय सवारी उत्पादन गर्नेे एसियन भेहिकल्स निर्माणधीन अवस्थामा छ। सेजमा हुलास समूहको हुलास केवल प्रालि तार उत्पादन गर्ने लक्ष्यका साथ निर्माणाधीन अवस्थामा छ।

हस्तकलाका सामान उत्पादन गरी पूर्ण रूपले निर्यात गर्ने योजनासहित एभरेष्ट फेसन प्रालिको पूर्वाधार पनि हाल निर्माणको क्रममा छ। यी उद्योग निर्माण भई सञ्चालनमा आए भने थप एक हजार नयाँ जनशक्तिले सेजमा पूर्णकालीन रोजगारी पाउनेछन्।यससँगै थप १० जनाले सिमरा सेजमा उद्योग सञ्चालन गर्न प्रस्ताव पेश गरेको सिलवालले जनाएका छन्।

सुशीला कार्की नेतृत्वको सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को जग्गा भाडा घटाएपछि सिमरा लगायतका सेजमा नयाँ उद्योग थपिने क्रम ह्वात्तै बढेको सिलवालले बताए।

सरकारले साबिकमा प्रतिवर्ग मिटर २० रुपैयाँबाट सेजको जग्गाको भाडा प्रतिवर्ग मिटर ५ रुपैयाँमा झारेपछि सेजमा उद्योग सञ्चालन गर्ने नेपाली र विदेशी नागरिक आकर्षित भएको उनले बताए। उद्योग खोल्ने लगानीकर्ताहरू आकर्षित भएपछि सिमरा सेजमा उद्योगको लागि विकसित गरिएको ए ब्लकका ६८ मध्ये ६७ प्लट भाडामा लागेको सिलवालले बताए। एक प्लटमा लगभग एक बिघा जग्गा छुट्याइएको पनि उनले बताए।

जग्गा भाडा घटेपछि उद्योग सञ्चालन गर्न विशेष चासो देखिनुले यसअघिको भाडा दर चर्को रहेकाले सेजमा नयाँ उद्योग थपिन समय लागेको अनुमान गरिएको छ।  

प्रकाशित: २९ श्रावण २०८३ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App