१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

व्यापारिक घरानामाथि आक्रमणपछि निजी क्षेत्र त्रसित

सिटिजन बैंकका अध्यक्ष रहेका उद्योगी प्रवलजंग पाण्डेले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै भने–‘प्रिय व्यवसायी मित्रहरू, विगत दुई दिनको घटनाक्रमले हामी सबै अन्योलमा छौँ। हाम्रो मनोबल अत्यन्तै न्यून भएको छ। हामीले ऋण गरेर उद्योग व्यवसाय सञ्चालन गरेका हौँ, लाखौँ जनतालाई रोजगारी दिएका छौँ। राज्यको नियम परिधिमा व्यवसाय गरी राज्यलाई बुझाउनु पर्ने कर लगायत अन्य दायित्व पनि बुझाई रहेका छौँ। राजनीतिक नेतृत्वका केही नेताको गल्तीको सजाय हामी समग्र व्यवसायीलाई किन?’

पाण्डेले थप लेखेका छन्–‘हाम्रा उद्योग व्यवसायमा निसाना किन? हाम्रा घर–घरमा आक्रमण किन? के अब नेपालमा उद्योग नचाहिने हो?’ पाण्डेको प्रश्न समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्छ। मुलुकको राजनीतिक अस्थिरता, बेथिति, भ्रष्टाचार र सेवा प्रवाहमा देखिएको बेप्रवाहबाट आक्रोशित जेन–जीले सरकारी संरचनालाई मात्र होइन, अग्रणी व्यापारिक घरानाका उद्योग र व्यवसायमा पनि आक्रमण गरेका छन्।

नेपालका डलर अर्बपति विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, शंकर ग्रुप लगायतका ठूलादेखि साना उद्योगी–व्यवसायीका उद्योग र निजी घरमा आक्रमण भएको छ।

चौधरीको कार्यालय, निजी निवास, सतुंगल र भैरहवामा रहेको उद्योगमा आगजनी, तोडफोड र लुटपाट भएको छ। आइएमई ग्रुपका अध्यक्ष ढकालको लगानी रहेको चन्द्रागिरी र मौलाकालिका केबलकारमा तोडफोड र आगजनी भएको छ। मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनीमा पनि आगजनी, तोडफोड र सामान लुटपाट भएको छ। गोल्छाका उद्योग तथा घरमा आक्रमण भएको छ। त्यस्तै अन्य साना व्यवसायीका होटल र रेस्टुरेन्टमा पनि लुटपाट र क्षति पुगेको छ।

पूर्व अर्थसचिव रामेश्वर खनालले भने, ‘निजी सम्पत्तिमा क्षति पुग्नु चिन्ताको विषय हो।’ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्ले पनि तोडफोडप्रति सम्पत्ति नष्ट नगरी यसको संरक्षण गर्न आग्रह गरेका छन्।

प्रकाशित: २५ भाद्र २०८२ २१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App