शेयर बजारमा देखिएको लगातारको गिरावट र लगानीकर्ताको घट्दो आत्मविश्वासलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार सुधारका लागि सक्रियता बढाएका छन्। प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा धितोपत्र बजारका नियामक निकाय, ब्रोकर तथा लगानीकर्ता प्रतिनिधिसँग छलफल गर्दै बजार सुधारका उपायबारे चासो व्यक्त गरेका हुन्।
छलफलमा ब्रोकर तथा लगानीकर्ता प्रतिनिधिहरूले शेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने नीतिगत तथा प्राविधिक सुधारका विषय प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। उनीहरूले बजारमा तरलता र कारोबार विस्तारका लागि आधुनिक कारोबार प्रणाली आवश्यक रहेको भन्दै इन्ट्रा–डे ट्रेडिङ र सर्ट सेलको व्यवस्था छिटो लागू गर्नुपर्ने माग गरेका छन्।
सरोकारवालाले हालका केही नियमहरू बजार विस्तारका लागि बाधक बनेको भन्दै धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग सम्बन्धित सुधारका विषय उठाएका थिए। नयाँ सूचीकृत कम्पनीको शेयर कारोबार प्रणाली, मूल्य निर्धारण प्रक्रिया तथा बजारमा वास्तविक माग–आपूर्ति कायम गर्ने विषयमा समेत छलफल भएको थियो।
बैठकमा बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा गरेको लगानी लामो समयसम्म बिक्री गर्न नपाउने व्यवस्था पुनरावलोकन गर्नुपर्ने, ब्रोकरमार्फत लगानीकर्तालाई सहज मार्जिन कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने मागसमेत उठाइएको थियो।
त्यस्तै पूँजीगत लाभकर गणना प्रणालीमा रहेको अस्पष्टता हटाउनुपर्ने विषय पनि छलफलमा आएको थियो। लगानीकर्ताले नाफा र घाटाको समायोजन नगरी कर निर्धारण गर्दा बजारमा नकारात्मक प्रभाव परेको भन्दै कर प्रणालीलाई स्पष्ट र व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले नियामक निकायका प्रमुखहरूसँग बजार सुधारमा ढिलाइ हुनुको कारणबारे जानकारी लिँदै इन्ट्रा–डे र सर्ट सेलजस्ता आधुनिक उपकरण सञ्चालनमा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधान गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना तथा निजीकरण प्रक्रियालाई पनि गति दिन निर्देशन दिएका छन्। नेप्सेलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउने विषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी संस्थागत लगानीकर्ताको सहभागिता बढाउन सञ्चय कोष, नागरिक लगानी कोष र बीमा कम्पनीलाई शेयर बजारमा लगानी बढाउने वातावरण बनाउनुपर्ने तथा गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा सहभागी गराउने आवश्यक व्यवस्था गर्नुपर्ने विषय पनि उठाइएको छ।
प्रधानमन्त्रीको पहलपछि शेयर बजार सुधारका विषयमा सकारात्मक निर्णय आउने अपेक्षा लगानीकर्ता र ब्रोकरहरूले गरेका छन्। छलफलमा सहभागीहरूले सरकारबाट पूँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा लिएर सुधार प्रक्रिया अघि बढाउने संकेत देखिएको बताएका छन्।
प्रकाशित: ४ श्रावण २०८३ १६:०६ सोमबार





