२८ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक

विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक भएको छ।  

सो पुस्तकको उद्योगपति विनोद चौधरी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, पूर्वन्यायाधीश एवं साइबर कानुनका जानकार डा श्रीकृष्ण भड्ढराईले ‘डिजिटल’रूपमा लोकर्पण गरे।

पुस्तकमा नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार र फेरिएको विज्ञापन संस्कारलगायत विषय समेटिएको छ।

त्यस्तै नेपालमा आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा पुस्तकमा प्रस्तुत छ।

नेपाल विज्ञापन एजेन्सी व्यवसायी सङ्घको अध्यक्षसमेत रहेका पौडेलले पुस्तकमा व्यावसायिक आरोह–अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नुपरेका सफलता, असफताका विषय पनि समेटेका छन्।  

लेखक पौडेलले विज्ञापन क्षेत्रमा नयाँपन ल्याउने आफ्नो प्रयाससँगै आफूले जाने भोगेका विषयवस्तुलाई सार्वजनिक गरी नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रमा लागिरहेका र यस क्षेत्रमा लाग्ने आगामी पुस्ताले हासिल गर्नुपर्ने ज्ञानका कुरालाई पनि पुस्तकमा सकेसम्म समेटेको उल्लेख गरे। करिब छ सयभन्दा बढी विज्ञापन निर्माण गरेका अनुभव र पछिल्लो समयमा फेरिएको विज्ञापन शैलीका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ।

उद्योगपति चौधरीले पुस्तक विज्ञापन क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका लागि इतिहासको अध्ययन, मार्गदर्शन र प्रेरणाको स्रोत बन्ने बताए।  

सञ्चार उद्यमी राजकर्णिकारले सो पुस्तकले विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम र सरकारी नीतिनियमबीचको अन्तरसम्बन्धलाई सैद्धान्तिक र व्यावहारिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेको बताए।  

पूर्वन्यायाधीश भड्ढराईले विज्ञापनको परम्परागत शैलीबाट डिजिटल रुपमान्तरणसम्मको यात्रालाई पुस्तकमा सूक्ष्म रुपमा केलाएको जनाए। 

प्रकाशित: २८ भाद्र २०८३ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App