मुलुककै पुरानो विकास आयोजनामध्ये एक हुलाकी राजमार्गअन्तर्गत पर्ने बारा खण्डको एउटा सडक निर्माणमा भएको ढिलाइले स्थानीयवासी १६ वर्षदेखि सास्ती भोग्न बाध्य छन्। चार किलोमिटर सडक निर्माणका लागि १६ वर्षमा चार पटकसम्म ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आए पनि सडक अझै पूर्ण रूपमा निर्माण हुन सकेको छैन।
मानमत– कलैया– मटिअर्वा हुलाकी सडक खण्डअन्तर्गत कलैया बजार क्षेत्रको संस्कार एफएमदेखि देवीगन्जसम्म तथा अन्य केही भागमा अधुरै रहेको सडक निर्माणका लागि अहिले चौथो पटक ठेक्का प्रक्रिया सुरु गरिएको छ। पटक–पटक ठेक्का लाग्ने, निर्माण कम्पनी परिवर्तन हुने र सम्झौता तोडिने क्रमले सडक निर्माणको लागत र समय दुवै बढेको छ भने स्थानीय नागरिक वर्षौंदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको मानमतदेखि भारतसँग सीमा जोडिएको मटिअर्वासम्म करिब २७ किलोमिटर लामो यो सडक हुलाकी राजमार्गको महत्त्वपूर्ण खण्ड हो। अन्य अधिकांश भागमा सडक निर्माण सम्पन्न भए पनि कलैया बजार क्षेत्रको करिब चार किलोमिटर सडक अझै अधुरो अवस्थामा छ।
हुलाकी सडक आयोजना वीरगन्जका अनुसार अधुरो रहेको चार किलोमिटर सडकलाई चार लेनमा निर्माण गर्न ५० करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ। नयाँ ठेक्कामार्फत उक्त सडक निर्माण अघि बढाउने तयारी भइरहेको आयोजनाले जनाएको छ।
पहिलो ठेक्कादेखि नै समस्या
हुलाकी सडक निर्माणको सुरुवात २०६७ चैत १२ गते भारतीय अनुदानअन्तर्गत भएको थियो। सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनले पाएको थियो। सम्झौताअनुसार २०७० जेठ मसान्तभित्र अर्थात् २६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने थियो।
सडक क्षेत्रमा रहेका विद्युत् पोल, खानेपानीका पाइप तथा अन्य भौतिक संरचना हटाउन समस्या भएको भन्दै भारतीय निर्माण कम्पनीले काम अघि बढाउन नसकेको र आयोजना अलपत्र परेको हुलाकी सडक आयोजनाले जनाएको छ।
पहिलो कम्पनीले काम छाडेपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइएको थियो। दोस्रो पटक काठमाडौंको आशिष/डिएस जेभी निर्माण कम्पनीले मानमत–कलैया–मटिअर्वा सडकखण्ड निर्माणको जिम्मा पाएको थियो।
२०७३ कात्तिक ३ गते हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता भएको उक्त ठेक्काको लागत ४८ करोड ५८ लाख रुपैयाँ थियो। त्यसबेला ३० महिनाभित्र अर्थात् २०७६ वैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले २०७३ साल पुसको अन्तिम साता मटिअर्वामा सडकको शिलान्यास गरेका थिए। शिलान्यासपछि सडक समयमै बन्ने अपेक्षा गरिए पनि दोस्रो निर्माण कम्पनीले पनि कलैया बजार क्षेत्रमा काम अघि बढाउन सकेन।
स्थानीय विवाद, सडक क्षेत्र खाली गर्ने समस्या, विद्युत् पोल र खानेपानीका पाइप व्यवस्थापन हुन नसक्दा निर्माण कम्पनीले बजार क्षेत्रको काम अधुरै छाडेको थियो।
तेस्रो ठेक्का पनि असफल
अधुरो रहेको करिब चार किलोमिटर सडक निर्माणका लागि तेस्रो पटक ओम साई एन्ड कम्पनी/सप्तकोसी जलाधार जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। उक्त कम्पनीले करिब २३ करोड रुपैयाँमा निर्माणको जिम्मेवारी लिएको हुलाकी सडक आयोजना वीरगन्जले जनाएको छ।
२०७८ पुस २७ गते सम्झौता भएको उक्त ठेक्का २०७९ माघ १ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। काम सम्पन्न नभएपछि पहिलो पटक २०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको थियो।
म्याद थप गर्दा पनि अपेक्षित प्रगति नभएपछि हुलाकी राजमार्ग निर्देशनालयले सम्झौता तोडेर पुनः नयाँ ठेक्का लगाउने प्रक्रिया अघि बढाएको आयोजना प्रमुख अरुणकुमार कर्णले बताए।
‘निर्माण कम्पनीलाई पटक–पटक ताकेता र अल्टिमेटम दिइएको थियो तर सम्झौताअनुसार काम सम्पन्न हुन नसकेपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको हो’, कर्णले भने।
उनका अनुसार अहिले पुनः ठेक्काका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ।
ठेकेदार र स्थानीयबीच आरोप–प्रत्यारोप
ओम साई एन्ड कम्पनीका सञ्चालक होमनाथ गौतमले भने कलैया उपमहानगरपालिका र स्थानीय तहबाट पर्याप्त सहयोग नपाउँदा काम प्रभावित भएको दाबी गर्दै आएका छन्।
उनका अनुसार सडक क्षेत्रमा रहेका विद्युत् पोल, खानेपानी पाइप तथा अन्य संरचना समयमै नहटाइएका कारण कालोपत्र गर्ने काम अघि बढाउन कठिन भएको थियो। उनले कलैया उपमहानगरपालिकाले निर्माण सामग्री व्यवस्थापनमा समेत असहयोग गरेको आरोप लगाएका थिए।
यता स्थानीय र सरोकारवालाहरू भने निर्माण कम्पनीले पर्याप्त सक्रियता नदेखाएको आरोप लगाउँछन्। पटक–पटक म्याद थप हुँदा पनि काम पूरा गर्न नसक्नु ठेकेदार कम्पनीको कमजोरी भएको उनीहरूको भनाइ छ।
मुआब्जा विवादले पनि रोकियो सडक
कलैया बजार क्षेत्रमा सडक विस्तारका क्रममा मुआब्जा विवादले पनि निर्माण प्रभावित भएको थियो। सुरुमा सडकको केन्द्रबाट दायाँ–बायाँ १५/१५ मिटर जग्गा अधिग्रहण गर्ने योजना अघि बढाइएको थियो।
स्थानीयवासीले ७/७ मिटर मात्र जग्गा अधिग्रहण गर्नुपर्ने माग गर्दै विरोध गरेका थिए। पछि मुआब्जा रकम बढाउनुपर्ने माग राख्दै स्थानीयले संरचना हटाउन अस्वीकार गरेपछि निर्माण प्रक्रिया प्रभावित भएको थियो।
स्थानीय सुनिल कुशवाहाका अनुसार मुआब्जा बढ्ने आश्वासनका कारण लामो समय विवाद कायम रह्यो। ‘मुआब्जा पनि बढेन, सडक पनि बनेन। अन्ततः समस्या स्थानीयले नै भोग्नुपरेको छ’, उनले भने।
हिलो र धुलोको मारमा कलैयावासी
१६ वर्षसम्म सडक निर्माण पूरा नहुँदा कलैया बजार क्षेत्रका नागरिकले वर्षायाममा हिलो र सुक्खायाममा धुलोको समस्या झेल्दै आएका छन्।
सडकमा पानी जम्ने, सवारी साधन चलाउन कठिन हुने र दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीयको गुनासो छ। दैनिक सयौं सवारी साधन तथा ढुवानीका गाडी चल्ने मुख्य सडक लामो समयसम्म नबनाइँदा व्यापार व्यवसायसमेत प्रभावित भएको स्थानीय बताउँछन्।
स्थानीयवासीले अब सुरु हुने नयाँ ठेक्का पनि विगतजस्तै अलपत्र नपरोस् भन्दै प्रभावकारी अनुगमन र समयमै निर्माण सम्पन्न गर्न माग गरेका छन्।
१६ वर्षदेखि एउटै सडक निर्माणको प्रतीक्षामा रहेका कलैयावासीका लागि अबको चुनौती नयाँ ठेकेदार छनोट मात्र होइन, समयमै काम सम्पन्न गराउनु पनि हो।
प्रकाशित: २९ असार २०८३ १०:४३ सोमबार





