भारतीय सहरमा चर्काे गर्मी र नेपालमा लगातारको सार्वजनिक बिदाले गर्दा पोखरामा यतिबेला आन्तरिक र भारतीय पाहुनाको भीड लागेको छ। अधिक पाहुनाका कारण पोखराका होटल भरिभराउ जत्तिकै भएका छन्। पोखरा मात्र नभई आसपासका क्षेत्रका पर्यटकीय गन्तव्य पनि पाहुनाले भरिभराउ भएका छन्।
पर्यटन क्षेत्रको मुख्य सिजन सकिनै लागेको यो समयमा पर्याप्त पाहुना पाउँदा पर्यटन व्यावसायी हौसिएका छन्। बिदाको कारणले आन्तरिक पाहुना भरिएको र भारतीय सहरमा अधिक गर्मी भएकोले सितल खोज्ने निहुँमा भित्रिएका पाहुनाले गर्दा भीड बढेको व्यवासायीले बताएका छन्। व्यावसायीका अनुसार अहिले लेकसाइडका अधिकांश होटल भरिभराउ छन्। सानादेखि ठूलासम्मका सबै होटलले अहिले पाहुना पाएको पर्यटन व्यावसायीले बताएका छन्।
‘आन्तरिक र भारतीय पाहुनाका कारण पोखराका होटलमा अहिले भीड छ। हत्तपत्ति कोठा पाउन मुस्किल हुन्छ,’ होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डे भन्छन, ‘धेरैजसो होटलका कोठा पाहुनाले भरिएका छन्। ठूला होटलको अकुपेन्सी पनि ९० प्रतिशत हाराहारी पुगेको छ।’ पछिल्लो तीनदिनदेखि पोखराका होटलमा पाहुनाको आकार बढेको उनले बताए।
‘लामो बिदाले गर्दा पोखराले पाहुना पाएको हो। लामो बिदाले गर्दा परिवार सहितै घुम्न आउने आन्तरिक पाहुनाको संख्या पनि निकै नै राम्रो छ,’ उनले भने, ‘विद्यालय र कार्यालय बन्द भएपछि घुम्न आउने बढेका छन्। त्यसैमाथि भारतीय पाहुना पनि पर्याप्त भित्रिएका छन्।’
उनका अनुसार पोखरामा अहिले भारतीय पाहुना पनि पर्याप्त छन्। भारतीय पाहुना खर्चका हिसाबले केही सस्ता भएपनि संख्यात्मक हिसाबले आगमन बढेको उनले बताए। ‘भारतमा पनि लामो बिदा रहेको र गर्मी पनि बढेको छ। त्यसले गर्दा भारतीय पाहुना पर्याप्त आकारमा पोखरा आएका छन्,’ उनले भने, ‘नेपाल–भारत सीमा क्षेत्रका पाहुनालाई पोखरा आउन सहज पनि छ। स्थलमार्गबाट पाहुना पोखरा आउन सक्ने भएकोल भीड पनि बढेको हो।’ त्यसबाहेक मुक्तिनाथ दर्शन गर्न जाने भारतीयको संख्या पनि अहिले बढेको उनले बताए।
तेश्रो मुलुकका पाहुनाको आगमनको सिजन सकिन थालेको भएपनि आगमन ठिकै रहेको उनले बताए। ‘मुख्य सिजनको केहीदिन अझै बाँकी छ। त्यसैले आन्तरिक र भारतीय सहित तेश्रो मुलुकका पाहुनाको आगमनलाई नराम्रो भन्न मिल्दैन,’ उनले भने,‘बरु अबको केहीदिनपनि आगमन कमजोर हुन्छ। आन्तरिक पाहुना कम हुन थालेसँगै भारतीयको भरमा भात्र भरिभराउ हुन सक्दैन।’
अहिले पृथ्वी राजमार्गको यात्रा सहज बनेको छ। पोखरादेखि मुग्लिनसम्मको यात्रा निकै नै सहज बनेको छ। त्यस्तै महेन्द्र राजमार्गको बुटवल–नारायणगढ खण्ड पनि उत्तिकै सहज बनेको छ। पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै बुटवल पुग्न पनि समस्या नभएपछि पाहुनाको पोखरासम्मको पहुँच सहज बनेको उनले बताए।
‘यसै पनि पोखरामा छोटो बिदा हुँदा पनि पाहुना थपिने गरेको थियो। यो पटक त झन पाहुनाको भीड लागेकै हो। यात्रा सहज भएकोले आन्तरिक पाहुनालाई पोखरा भित्रिन सजिलो बन्यो। त्यस्तै भारतीयका लागि पनि उत्तिकै सहज छ,’उनले भने।
उनका अनुसार भारतीय पाहुनाको पर्याप्त आगमनले गर्दा पोखराका साना र मध्यम आकारका होटल पनि पाहुनाले भरिभराउ भएका छन्। चितवनको सौराहामा पनि होटल संचालन गरेका पाण्डेका अनुसार सौराहामा भने पोखराको जत्तिको भीडभाड छैन। पोखरा आसपासका ग्रामीण क्षेत्रमा भने पाहुनाको भीडभाड रहेको त्यहाँका व्यावसायीले बताए।
कास्कीको माछापुच्छ्रेस्थित अस्ताममा अन्नपूर्ण इको भिलेज रिसोर्ट चलाएका व्यावसायी विश्व अधिकारीले पनि अहिले सहरी क्षेत्रमा जस्तै ग्रामीण क्षेत्रमा पनि पाहुनाको भीड रहेको बताउँछन्। अधिकारीले कतिपय पाहुनालाई आफ्नो रिसोर्टमा व्यवस्थापन गर्न नसकेपछि फिर्ता पठाउनुपरेको बताए। ‘हिजो मात्र ४० जना पाहुनालाई अन्यत्र बस्न पठाउनुपर्ने अवस्था रह्यो। मेरो रिसोर्टमा ठाउँ अभाव भयो,’ अधिकारीले भने, ‘पर्याप्त पाहुना छन्। अहिलेका लागि पाहुना अभाव छैन। भारतीय र आन्तरिक पाहुनाले गर्दा व्यावसायीलाइ काम पुगेको छ।’
उनका अनुसार पोखरा क्षेत्रसँगै आसपासका क्षेत्र अस्ताम, धम्पुस लगायतका ग्रामीण पर्यटकीय क्षेत्रमा पनि उत्तिकै पाहुना छन्। ‘निजी गाडीमा आउन सकिने भएपछि अहिले गाउँगाउँका पर्यटकीय क्षेत्रले पर्याप्त पाहुना पाएका छन्। तेश्रो मुलुकका पाहुनाको आगमनमा आन्तरिक र भारतीय पाहुना थपिँदा योपटक यतिबेलाको समयले पाहुना अभाव खेप्नुपरेन,’ अधिकारीले भने।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि अहिले पोखराको पर्यटन क्षेत्र आन्तरिक र भारतीय पाहुनाका कारण चलायमान बनेको बताउँछन्। योपटक भारतीय पाहुना भित्रिनुमा पोखरासम्म सहज पहँुच भएकोले पनि पाहुना भित्रिन सहज भएको उनले बताए। ‘पोखराको पर्यटन क्षेत्रले भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान चलाएर भारतीय पाहुनालाई पोखरा बोलाउँदै आएको छ। चलिए पोखरा अभियानको परिणाम देखिन थालेको छ,’ उनले भने।
पर्यटन क्षेत्रले भारतीय पाहुनालाई लक्षित गर्दै लामो समयदेखि भारतीय सीमा क्षेत्रमा चलिए पोखरा अभियान चलाएर पाहुनालाई पोखरा घुम्न बोलाउँदै आएको छ।
‘पोखराले गरेको प्रचारप्रसारको प्रभाव पनि परेको हो। यतिबेला पोखराको मौसम पनि घुमघामका लागि उपयुक्त छ। त्यसले गर्दा पनि गर्मी छल्न पोखरा आउने गरेका छन,’ उनले भने।
‘पछिल्लो समय भारतीय भ्लगर, यूट्यूवर लगायतका इन्फ्लुयन्सर्स पोखरा आएका छन्। उनीहरुले पनि पोखराको प्रचारप्रसार गरेका छन,’ उनले भने, ‘पोखरासम्मको स्थलमार्गको पहुँच सहज भएको छ। पोखरा आएर फर्केका भारतीय पर्यटकले पनि सामाजिक सञ्जालको प्रचारप्रसार गरिरहेका छन्। त्यसले गर्दा पनि पोखराले यो बेला पर्याप्त पाहुना पाएको हो।’
उनले पनि पोखराका अधिकांश होटल अहिले पाहुनाले भरिएको बताए। आन्तरिक पाहुना भित्र्याउन लामो अवधिको सार्वजनिक बिदाले सघाएको पनि पराजुलीले बताए। ‘एकदिन बिदा हुँदा त पोखरामा आन्तरिक पाहुना बढ्छन। यो पटक त चारदिनसम्म बिदा भएको छ। त्यसले पनि पाहुनालाई तान्न सघाएको हो,’ पराजुलीले भने।
प्रकाशित: १७ जेष्ठ २०८३ १७:१७ आइतबार





