२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: नियमित अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न छुट

पार्किङ, ल्यान्डिङ तथा नेभिगेसनमा सतप्रतिशत र ग्राउन्ड ह्यान्डलिङ ५० प्रतिशत छुट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः नागरिक

मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउनका लागि अन्तर्राष्ट्रिय नियमित हवाई उडानलाई पार्किङ, ल्यान्डिङ तथा नेभिगेसनमा सतप्रतिशत र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गर्यो।  

सरकारको यो निर्णयसँगै २०८५ भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रुपमा र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट हुनेछ। अघिल्ला सरकारले दिएको छुट आगामि भदौ मसान्तमा सकिन लागेको थियो। तर, अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेका हवाई कम्पनिले यो छुटलाई कम्तिमा दुईवर्षका लागि थपिदिन आग्रह गर्दै आएका थिए।  

यतिबेला पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनैपनि अन्तर्राष्ट्रिय उडान भएका छैनन्। तर, पोखराबाट आगामि असोज ७ (सेप्टेम्बर २३) देखि पोखरा–दुबई रुटमा फ्लाई दुबईले सिधा हवाई उडान सुरु गर्ने तयारी गरेको छ। सरकारले दिएको यो छुटले पोखरा र भैरहवामा हुने अन्तर्राष्ट्रिय उडानका हवाई कम्पनिलाई आर्थिक भार कम हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानथलका प्रमुख जगन्नाथ निरौलाले बताए।  

‘अहिले पोखराबाट कुनैपनि रुटमा अन्तर्राष्ट्रिय उडान सुरु भएका त छैनन। तर, यो छुटले भविश्यमा हुने अन्तर्राष्ट्रिय उडानलाई आर्थिक रुपमा केही सहज हुनेछ,’ निरौलाले भने, ‘नियमित अन्तर्राष्ट्रिय उडानका जहाजले मात्र यो छुट पाउनेछन। चार्टर उडानका लागि भने यो छुट दिएको होईन।’ चार्टर उडान व्यावसायिक उडान हुने र नाफा कमाउनका लागि मात्र त्यो उडान हुने भएकोले चार्टर उडानलाई छुट नदिएको उनले बताए।  

उनका अनुसार अघिल्लो पटक भएको निर्णय अनुसार आगामि भदौमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन सम्बन्धि छुटको प्रावधान सकिन थालेको थियो। अब भने दुईवर्षका लागि थपिएको छ। यो थपले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनिलाई उडानको योजना बनाउनका लागि सहज हुने उनले बताए।

‘अन्तर्राष्ट्रिय हवाई कम्पनिले अब पोखरा वा भैरहवाका लागि कम्तिमा २ वर्षको उड्डयन योजना बनाउन पाउने अवस्था पक्का भएको छ। छोटो समयको छुट दिँदा योजना बनाउन अन्योल हुन्छ,’ उनले भने, ‘अब भने दुईवर्षका लागि छुट पक्का भएको छ। यसले नयाँ हवाई कम्पनिलाई पोखरामा आकर्षण बढाउन सहज हुनेछ।’

सरकारले अहिले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा पनि ५० प्रतिशत छुट लिएको छ। नेपालका अन्तर्राष्ट्रिय उडानका लागि ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवाले लिएको छ। पोखराका लागि यसअघि पनि ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत नै छुट हुँदै आएको थियो। विमानस्थलबाट पाइने यो छुटले हवाई सेवालाई केही सहज र सस्तो पर्ने निरौलाले बताए।  

यसअघि पनि यिनै दुई अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्याण्डलिङ, हवाई इन्धनमा छुट दिने निर्णय सरकारले गरेको थियो। ‘नियमित उडानले मात्र छुट पाउने हो। त्यसले हवाई यात्रुलाई थोरै भएपनि टिकटको मुल्य सस्तो पर्नेछ,’ उनले भने,‘ती सबै शुल्क तिर्नुपरेको खण्डमा हवाई कम्पनि माथि थपिएको आर्थिक भार हवाई टिकटको मुल्यमा पर्ने हुँदा टिकट महंगो पर्न जान्थ्यो, तर, अब यो छुटले केही सस्तो अवश्य पर्छ।’

अन्तर्राष्ट्रिय हवाई उडानलाई पार्किङ, ल्यान्डिङ तथा नेभिगेसनमा सतप्रतिशत र ग्राउन्ड ह्यान्डलिङ सम्बन्धि छुट दिँदा एउटा उडानमा एकहजार देखि ११ सय अमेरिकी डलरसम्म सस्तो पर्न जाने उनले बताए। जहाजको तौल, प्रकृति अनुसार यस्तो शुल्क निर्धारण गरिएको हुन्छ। तर, कम्तिमा ११ सय अमेरिकी डलर शुल्क सस्तो हुँदा हवाई टिकट सस्तो पर्न जाने उनले बताए।

‘अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्नका लागि यस्ता छुट दिने गरिएको छ,’ उनले भने। निरौलाका अनुसार फ्लाई दुबई बाहेक अरु केही अन्तर्राष्ट्रिय हवाई कम्पनिले पोखरामा सिधा उडानका लागि चाँसो देखाएका छन्। तर, ती उडानबारे यकिन निर्णय भएको छैन। ‘फ्लाइ दुबईको उडान सफल भएमा पक्कै पनि अरु एयरलाइन्स पोखरामा आकर्षित हुनेछन,’ उनले भने, ‘फ्लाई दुबईको उडान अवस्थालाई नियालेर बसेका छन्। उडानका लागि चाँसो भने दिएका छन्।’ आगामि असोजदेखि उडानको योजनामा रहेको फ्लाई दुबईले समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउने छुटका लागि पहल गरिरहेको थियो।  

अहिले पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्र भईरहेको छ। यसअघि हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइट गरिरहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय नै पहिलो एयरलाइन्स हो। तर, त्यो बाहेक सिचुआन एयरलाइन्सल चीनको छेन्दु–पोखरा चार्टर उडान गरेको थियो। २०२५ को मार्चखेखि सुरु भएको हिमालयको पोखरा–ल्हासा नियमित उडान भने २०२६ मार्च २३ देखि रोकिएको छ। त्यसपछि कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका छैनन।  

प्रकाशित: ६ श्रावण २०८३ १८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App