९ असार २०८३ मंगलबार
image/svg+xml
अर्थ

पोखरामा आन्तरिक र बाह्य पाहुना सराबरी

व्यावसायी भन्छन्ः पर्यटन क्षेत्र चलायमान बन्यो

पोखरामा आन्तरिक पर्यटकको हिस्सा ५० प्रतिशत हिस्सा पुगेको पर्यटन व्यवासायीले बताएका छन् । यो आगमन अढाईदशक अघि ५ प्रतिशत हाराहारीमा रहेकोमा अहिले बढेर कम्तिमा ५० प्रतिशत पुगेको व्यावसायीको भनाई छ  

चितवनको सौराहा, रुपन्देहीको भैरहवा र पाल्पामा पर्यटन प्रवर्द्धनको क्रममा पुगेका व्यावसायीले पोखरामा आन्तरिक पर्यटकको आगमन हरेक वर्ष बढिरहेको बताए । होटल संघ पोखराले आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउँदै योपटक सौराहा, भैरहवा र पाल्पामा ‘जाउँ है पोखरा’ अभियान चलाएको थियो ।  

संघले अढाई दशकदेखि चलाएको यो अभियानले पोखरामा आन्तरिक पाहुनाको आगमन बढेको व्यावसायीले बताएका छन् । संघका अध्यक्ष लक्ष्मण सुवेदीले ‘जाउँ है पोखरा’ अभियान संचालनसँगै पर्यटक आगमनमा सुधार भएको बताए ।  

उनका अनुसार अढाई दशकअघि पोखरामा पाँचप्रतिशत रहेको आन्तरिक पाहुनाको आगमनको हिस्सा अहिले बढेर ५० प्रतिशत पुगेको छ । ‘पोखराले हरेक वर्ष पाहुना आगमन थपिरहेको छ । आन्तरिक पाहुनाको आगमनको हिस्सा यो वर्ष झनै बढेको छ । प्रवद्र्धन अभियानले पनि आगमन बढाएको हो,’ उनले भने, ‘पोखरामा आन्तरिक पाहुनाको आगमन बढ्दा व्यावसायी पनि लाभान्वित भएका छन् । त्यसको लाभ राज्यले पनि लिएको छ ।’

‘जाउँ है पोखरा’ अभियानले नेपाली पनि पर्यटक हुन् भन्ने विषय सुरुवात गरेको अध्यक्ष सुवेदीले स्मरण गराए । ‘यो अभियान सुरु गर्दा त पोखरामा आन्तरिक पाहुनाको अवधारणा नै बनिसकेको थिएन । तर, अहिले आन्तरिक पाहुनाको आगमन बढिरहेको छ । यसले पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ,’ उनले भने ।  

व्यावसायीका अनुसार पछिल्लो समय सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि पोखरामा आन्तरिक पाहुनाको आगमनले अझै सुधार गरिरहेको छ । ‘आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्रले अफसिजनको अनुभव पनि गर्नुपरेको छैन,’ उनले भने, ‘बाह्रैमासजसो आन्तरिक पाहुना आएका छन् । यसले पोखराको मात्र नभई समग्र पर्यटन क्षेत्रको आगमन बढाएको छ ।’

प्रवद्र्धन अभियानमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ ले पोखरा जस्तै भैरहवाले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउँदै पर्यटनमा नकारात्मक भन्दा सकारात्मक कुरालाई जोड दिनुपर्ने बताए ।  

पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, चितवन र लुम्बिनी जोड्ने पर्यटनको त्रिकोणीय प्रवद्र्धनलाई पुनः अगाडि बढाइएको जानकारी दिंदै ती ठाउँ बीचका अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः प्रवद्र्धन गर्दै जाने बताए । अहिले पोखरा, चितवनको भरतपुर र लुम्बनीले सिल्भर ट्रयांगलको नाममा तीनवटा पर्यटकीय सहरको प्रवद्र्धन गर्न थालिएको उनले बताए । ‘एउटा सहरमा आएका पाहुनालाई अर्काे सहरमा पठाएर प्रवद्र्धन गर्ने योजना हो । यसले पोखरामा पाहुनाको आगमन बढाउँछ,’ उनले भने ।  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा साहासिक र अग्ला हिमालको गन्तव्यमार्ग भएको बताउँदै यहाँ आउने पर्यटकलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा पर्यटन व्यावसायी गम्भिर रहेको बताए ।  

जाउँ है पोखरा

‘जाउँ है पोखरा’ अभियानका क्रममा भैरहवामा प्रवद्र्धन गरिँदै । तस्बिरः नागरिक  

 

प्रकाशित: ९ असार २०८३ १९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App