२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

रोपाईं महोत्सवः हिलोमा रमाए स्वदेशी र विदेशी पर्यटक

किसानलाई सम्मान

रोपाईं महोत्सवमा रमाउँदै विदेशी पाहुना। तस्बिरः नागरिक

पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले हरेक वर्ष असार १५ मा रोपाईं महोत्सव आयोजना गर्छ। पोखरामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउनका लागि हरेक असार १५ मा गरिने रोपाईं महोत्सव यो पटक भने नियमित भन्दा एकदिन अगावै आइतबार आयोजना गरियो।  

असार १५ मा पूर्णिमा परेको भन्दै एकदिन अगावै परिषद्ले महोत्सव आयोजना गरेर स्वदेशी र विदेशी पाहुनालाई हिलोमा खेल्ने मौका दिलायो। परिषद् अध्यक्ष तारानाथ पहारीले पोखरामा आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्नका लागि महोत्सव आयोजना गरेको बताए।  

‘योपटक एकदिन अघि नै हामीले रोपाईं महोत्सव आयोजना गरेका हौ। महोत्सवले पर्यटकलाई रमाउने अवसर दिलायो,’ उनले भने, ‘पोखरा आएका कतिपय विदेशी पाहुना हिलोमा रमाउनकै लागि भनेर महोत्सवमा भाग लिन पुगेका थिए।’ पोखरा महानगरपालिका–३० देउराली खोला किनारमा योपटकको महोत्सव गरियो। स्थानीय किसानको करिब आठरोपनी क्षेत्रफलमा चारहल गोरुले जोतेर रोपाईं महोत्सव गरेको उनले बताए।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित आयोजित महोत्सव यसअघिका वर्षहरुमा राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ गते आयोजना हुँदै आएको थियो। ‘हिन्दु परम्परामा पुर्णिमाको दिन हलगोरु नजोत्ने भन्ने चलन छ,’ उनले भने, ‘त्यहि भएर यस वर्ष अघिल्लो दिन गरेका हौं। तरपनि महोत्सवले रौनक थप्यो। आइतबार सार्वजनिक बिदा परेकोले पनि यो पटक महोत्सवमा अझै आन्तरिक पाहुनाको आगमन थपिन पुगेको हो।’

परिषद्ले आयोजना गरेको असारे रोपाईं महोत्सवको यो २१ औं संस्करण हो। वर्षायाममा पोखरामा विदेशी पाहुना कम हुने भएपछि अरु पाहुना तान्नका लागि रोपाईं महोत्सव गर्न थालिएको थियो। महोत्सवलाई वडास्तरीय कृषि सञ्जाल पोखरा–३०, पर्यटन वोर्ड र पोखरा महानगरपालिकाले सघाएका थिए।  

कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य सहित महोत्सव गरेको परिषद्का महासचिव जीवनराज सापकोटाले बताए। तीव्र सहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण गर्नु नै प्रमुख उद्देश्य हो,’ उनले भने, ‘जमिन बाँझो नराख्न प्रेरित गर्नुका साथै कृषि प्रति युवापुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्द्धन गर्न पनि यो महोत्सव हुँदै आएको छ।’ महोत्सवले कृषि पर्यटनमार्फत अर्थतन्त्र चलायमान गराउने पनि उनले बताए।  

वर्षमा एक पटक हिलोमा टेक्ने सस्ंकृतिको संरक्षणमा टेवा समेत यस्ता महोत्सवमार्फत पुग्ने बताउँदै महासचिव सापकोटाले भने, ‘कृषकलाई सम्मान तथा ‘हिलोमा एकपटक, देशको माया सयपटक’ भन्ने मान्यतालाई जीवन्त बनाउन पनि यसले काम गर्नेछ।’  

अध्यक्ष पहारीका अनुसार यो पटक हिलोमा रमाउनका लागि भारतीय र केही तेश्रो मुलुकका विदेशी पाहुना पनि गएका थिए। हिलोमा रमाउन पाउँदा पाहुना निकै नै खुसी भएको उनले बताए। ‘कतिपय पाहुनाका लागि यो पहिलो अवसर पनि थियो। हिलोमा रमाउन पाउँदा फरक अनुभूत पनि हुन्छ,’ उनले भने, ‘पहिलोपटक हिलो खेल्न पाउँदा पाहुना खुसी पनि थिए। यस्तो महोत्सवमा रमाउन पाउने भन्दै नियमित रुपमा यही समयमा नेपाल आउने विदेशी पाहुना पनि रहेको उनले बताए।  

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मौलिक परम्परा, संस्कृति र कृषि जीवनशैलीलाई संरक्षण गर्दै कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत २१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव पोखराको पहिचान र आकर्षणलाई अझ सशक्त बनाउने महत्वपूर्ण अभियान रहेको बताए। किसानको मेहनत, समर्पण र योगदानले हाम्रो कृषि, अर्थतन्त्र र खाद्य सुरक्षालाई सुदृढ बनाएको पनि मेयर आचार्यको भनाई छ।  

महोत्सवमा साउने प्रतियोगिता (हल गोरु दौड), असारे भाकासहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड प्रतियोगिता, पत्रकार खुला हिलो दौड तथा पुरुष–महिला रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो।  

किसानलाई सम्मान

महोत्सवका अवसर पारेर पोखरा महानगरपालिकाले दुईजना किसानलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ। कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की (पोखरा–२१) र हेब्रोन लाइभस्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का (पोखरा–२७) लाई रोपाई महोत्सवका अवसरमा सम्मान गरिएको हो।  

उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मानपत्रले सम्मान गरेका थिए। सम्मनित किसान कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी खेतीसँगै पशुपालन गर्दै आएका छन्। अर्की किसान खड्काले हेब्रोन लाइभ स्टक फार्म संचालन गर्दै आएकी छिन्। उनले आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित नमुना दुग्ध उत्पादन केन्द्रको रुपमा व्यावसाय सञ्चालन गर्दै आएकी छिन्।  

प्रकाशित: १४ असार २०८३ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App