१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा सकियो रोपाइँ, यस पटक ९९ प्रतिशत खेतमा धान

यस वर्ष कपिलवस्तुमा धान रोपाइँ सकिएको छ। असार दोस्रो सातादेखि सुरु भएको रोपाइँ साउन तेस्रो सातामा सकिएको छ। यस वर्ष ढिलो वर्षा हुँदा रोपाइँ पनि ढिलो नै सकिएको छ। साउन दोस्रो सातादेखि निरन्तर वर्षा हुँदा रोपाइँ सहज भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ। 

ज्ञान केन्द्रका अनुसार यस पटक ९९ प्रतिशत खेतमा रोपाइँ भएको छ। अब केबल तीन सय हेक्टर क्षेत्रमा मात्र रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले बताए। कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुन्छ।  

पौडेलका अनुसार कृष्ण नगर नगरपालिकाको तीन सय हेक्टर जमिनबाहेक अन्य स्थानमा रोपाइँ सकिएको हो। ‘गत वर्षकै हाराहारीमा धान रोपाइँ भएको छ’, उनले भने।

कृषि ज्ञान केन्द्रले यस वर्ष प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ। गत वर्ष ६५ हजार ८६६ हेक्टरमा धान खेती भएकामा प्रति हेक्टर ४ दशमलव ५ मेट्रिक टनका दरले दुई लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको थियो। 

प्रकाशित: २४ श्रावण २०८२ १९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App