४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

मध्यपूर्वको तनावले रोकिए प्याराग्लाइडिङ पाइलट

सराङकोटको आकाशमा चारदिनका लागि ‘नोटाम’ जारी

मध्यपूर्वका मुलुकमा निम्तिएको तनावका कारण पोखरामा हुने अन्तर्राष्ट्रियस्तरको प्याराग्लाईडिङ प्रतियोगिताका सहभागि पाइलट समेत रोकिएका छन्। पोखराको सराङकोट आकाशमा हुने यो प्रतियोगितामा भाग लिन चाहेका विभिन्न मुलुकका १५ जना पाइलट रोकिएका हुन्। ती पाइलटले सहभागिताका लागि नाम दर्ता गरेको भएपनि उनीहरु आउन नपाएको आयोजकले बताएको छ।  

त्यस्तै यो स्पर्धामा सहभागि हुन इच्छुक विभिन्न मुलुकका अरु धेरै पाइलटले पनि यात्रा झन्झटलाई देखाएर आउन नसकेको जानकारी आयोजकले दिएका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा विहीबारदेखि पोखराको आकाशमा २१ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदैछ। यो प्रतियोगिता तीनदिनसम्म संचालन हुनेछ।

प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले मध्यपूर्वका मुलुकमा रहेको तनावका कारण १५ जना पाइलट सहभागि हुन नपाउने अवस्था आएको जानकारी दिए। ‘सहभागिता पक्का गरेर नाम दर्ता गरेका यूरोपियन मुलुक र साउदी अरेबियाका पाइलट आउन नपाउने भएका छन,’ उनले भने, ‘पहिला आउने भनेर नाम दर्ता गरे। तर, अहिले उडान रद्द भएको तथा अवरुद्ध भएको भनेर पाइलटहरु आउन सक्ने अवस्था नरहेपछि नाम रद्द गरेका छन।’

ती बाहेक अरु मुलुकका कतिपय पाइलट यो प्रतियोगितामा सहभागि हुन आउने इच्छा जनाएपनि मध्यपूर्वका मुलुकको तनावका कारण रोकिएको उनले बताए। ‘अरु थुप्रै पाइलटहरु प्रतिश्पर्धामा भाग लिनका लागि आउन चाहेका थिए। तर, उनीहरु आउन पाएनन। यात्रामा झन्झट रहेको भनेर पाइलटले यात्रालाई रोकेका छन,’ उनले भने।  

उनका अनुसार विहीबारदेखि सुरु हुने प्रतिश्पर्धामा स्वदेशी र विदेशी गरि ६३ जना पाइलटले प्रतिश्प्र्धा जनाउँदैछन। ती मध्ये अधिकांश भारतीय र चिनियाँ रहेको उनले बताए। भारतीय र चिनियाँ बाहेक मलेशिया, थाइल्याण्डका पाइलट पनि यसमा सहभागि हुनेछन। ‘नेपाल आउन सहज हुने मुलुकका पाइलटको सहभागिता यो पटक बढि रहेको छ,’ उनले भने। प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुने पनि उनले बताए।  

संस्थाका अध्यक्ष अनिल केसीका अनुसार प्रतिश्पर्धाको यो अवधिमा व्यावसायिक उडान पनि नियमित संचालन हुनेछ। व्यावसायिक उडान सराङकोट भन्दा केही परेको तोरीपानीबाट उडेर चंखपुर वा पामेमा अवतरण हुनेगरि संचालन हुनेछन्। तर, प्रतिश्पर्धा भने सराङकोटबाट उडेर फेवातालको माथिल्लो क्षेत्रमा अवतरण हुनेछन्। व्यावसायिक र प्रतिश्पर्धा सँगसँगै हुने भएकोले आयोजकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट सराङकोट क्षेत्रको उडानका लागि अनुमति पनि लिएको उनले बताए। प्राधिकरणले त्यही अनुसार ‘नोटाम’ जारी गरेको समेत अध्यक्ष केसीले बताए।  

यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटनामा परेर पोखराका निसिम थापाको निधन भएपछि प्राधिकरणले एकल (सोलो) उडान बन्द गरेसँगै प्रतियोगिता पनि रोकिएको थियो। तर,अघिल्लो वर्ष सोलो उडान खुला भएपनि बल्ल यो पटक प्रतियोगिता सम्भव भएको आयोजकले बताएको छ।

पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङमा रमाउन चिनियाँ पर्यटकले सबैभन्दा बढी रुचाउँछन्। व्यावसायीका अनुसार चिनियाँ पोखरा भित्रिएका चिनियाँ पर्यटकमध्ये करिब ९० प्रतिशतले प्याराग्लाइडिङ गर्छन। तर, कोरोना भाइरस संक्रमणपछि पोखरामा चिनियाँको आगमन कमजोर बन्दा व्यवासायले गति लिन सकेको थिएन।

 ‘अहिले दिनमा १ सय ५० जनाको हाराहारीमा उडान भइरहेका छन। यो आकार केही समय अघिसम्म साह्रै नै सुस्त थियो। तर, अहिले भने उडान संख्या बढेका छन,’ उनले भने।  \पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने पोखराको आकाशमा साहसिक पर्यटनको प्रडक्टको रुपमा रहेको प्याराग्लाइडिङ उडानले भिन्दै पहिचान बनाएको बताए।

 प्याराग्लाइडिङका प्रतियोगिताले पर्यटनमा नयाँ आयाम थपिने पनि उनले बताए। पोखरामा पर्यटन क्षेत्रलाई चलायमान बनाउन र थप पर्यटक भित्र्याउन सघाउने उनले बताए। ‘पोखरामा पर्यटन सम्बद्ध कुनै न कुनै इभेन्ट नियमित भईरहँदा यसले समग्र व्यावसायलाई चलायमान बनाउँछ,’ उनले भने, ‘जति बढि संख्यामा गतिविधि गर्न सकियो, त्यत्ति नै पाहुनाको आगमन पनि बढ्ने हो।’ पोखरालाई साहसिक पर्यटनको सहरको रुपमा पहिचान दिलाउन पनि यसले सघाउने उनले बताए।  

प्रकाशित: ४ चैत्र २०८२ १८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App