२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ प्रतियोगिता: महिलातर्फ भारत र पुरुषमा नेपाली प्रथम

उदयपुरको बेलका नगरपालिकामा सम्पन्न ‘प्रथम प्रदेशस्तरीय प्याराग्लाइडिङ एक्युरेसी कम्पिटिसन–०८२’ मा पुरुषतर्फ नेपालका विष्णु तिमल्सीना र महिलातर्फ भारतकी श्रीयाङ्सी तामाङ प्रथम भएका छन्।

बेलका नगरपालिका–८ स्थित मैनामैनीको बुक्तोडाँडामा दुई दिनसम्म सञ्चालित प्रतियोगितामा उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका हुन्।

नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ एसोसिएसन उदयपुरद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत (सिक्किम र दार्जिलिङ) तथा जर्मनीका २८ प्रतिस्पर्धी सहभागी थिए। जसमा ५ जना महिला प्यारापाइलटहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ सुमनजङ थापा दोस्रो र भारतका एलिस्तर रम्तेल तेस्रो भए। त्यस्तै, महिलातर्फ इस्तीया राई दोस्रो र विद्या राई तेस्रो स्थान हासिल गर्न सफल भए।

निर्धारित अवतरण स्थलको गोलो घेराभित्र सटिक अवतरण गर्ने आधारमा विजेता चयन गरिएको आयोजकले जनाएको छ।

विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फका शीर्ष तीन विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

शनिबार आयोजित समापन समारोहमा बेलका नगरपालिकाका प्रमुख अशोक कार्की र कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा. इन्द्र सापकोटाले पुरस्कार वितरण गरे।

प्यारापाइलटहरूले बुक्तोडाँडाबाट उडान भरेर बराहक्षेत्र मन्दिर परिसरको दृश्यावलोकन गर्दै सप्तकोसी नदी किनारको बगरमा अवतरण गरेका थिए।

रौतामाई र बेलका नगरपालिकामा आगामी दिनमा हुने पर्यटन महोत्सवहरूमा पनि प्याराग्लाइडिङ उडान गर्ने तयारी भइरहेको एसोसिएसनका अध्यक्ष ईश्वर साम्पाङले जानकारी दिए।

प्रकाशित: २८ चैत्र २०८२ २०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App