असारको मध्य समय सकिन लाग्दा बागमती प्रदेशमा तीन प्रतिशत रोपाइँ सकिएको छ। असार १५ आइपुग्न लाग्दा बागमती प्रदेशका कुल धान रोप्न योग्य क्षेत्रमध्ये २.३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको तथ्यांक छ। कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागले राखेको तथ्यांकअनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्लामा यतिन्यून प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न हुन पाएको हो।
मनसुन ढिलो सक्रिय भएर पर्याप्त वर्षा नहुँदा धेरै क्षेत्रमा रोपाइँ प्रभावित बनेको जनाइएको छ। मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि–अनावृष्टि तथा मल आपूर्तिको चुनौतीले पनि रोपाइँको गति सुस्त बनाएको जनाइएको छ। मनसुन केही स्थानमा ढिलो सक्रिय हुनु, पर्याप्त वर्षा नहुनु तथा सिँचाइ अभावका कारण धेरै जिल्लामा रोपाइँ प्रभावित भएको कृषि अधिकारीहरूको भनाइ छ।
कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर हालसम्म एक लाख ३७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। विभागका अनुसार यो कुल सम्भावित रोपाइँ क्षेत्रको करिब १० प्रतिशत हो। यो गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले बढी रहेको जनाइएको छ।
देशभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा धान खेती हुने अनुमान छ। प्रदेशगत विवरणअनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत रोपाइँ सम्पन्न छ। मधेस प्रदेशमा करिब पाँच प्रतिशत मात्र रोपाइँ भएको छ। विभागको तथ्यांकअनुसार धान उत्पादनमा तराई क्षेत्रको प्रमुख योगदान रहने गरेको छ, जहाँबाट कुल उत्पादनको करिब ७० प्रतिशत हिस्सा आउँछ। पहाडी क्षेत्रको योगदान ३० प्रतिशत रहने गरेको छ।
तथ्यांकअनुसार देशभर करिब १३ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुने अनुमान छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकाल कृषि सूचना केन्द्रले किसानलाई आधुनिक ज्ञान, सिप, प्रविधि र मनसुनसम्बन्धी सूचना उपलब्ध गराउँदै उत्पादन वृद्धि प्रयास जारी राखेको जानकारी गराउँंछन्।
प्रकाशित: १३ असार २०८३ ०९:४० शनिबार





-600x400.jpg)