सङ्घीय सरकारले पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ।
सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ (मनाङ) कार्यालयमार्फत व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामा गरी सो क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताए।
यस आर्थिक वर्ष २०८२/०८३ मा सो प्याज खेती विस्तारका लागि किसान र सरकारको ५०/५० प्रतिशत लगानीमा सुरु गरेको उक्त कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रतिरोपनी कार्यालय र किसानको समान नौ हजार ८७५ खर्च हुने भएको छ। कार्यालयका सूचना अधिकारी मिजारका अनुसार किसान र कार्यालयको गरी प्रतिरोपनी १९ हजार ७५० रुपैयाँ लागत रहनेछ।
यसका लागि कार्यालयले जिल्लाका २८ वटा कृषक संस्था छनोट गरी यस खेती विस्तार सुरु गरेको छ। कार्यालयको सात लाख २० हजार रुपैयाँ लागत रहेको छ। एक रोपनीदेखि नौ रोपनीसम्म एक कृषक संस्थाले व्यावसायिक प्याज खेती गर्ने सो कार्यालयका नायव प्राविधिक सहायक नवीन श्रेष्ठले बताए। उनका अनुसार छनोट भएका कृषकलाई प्याज खेती प्रविधि र कार्यक्रम कार्यान्वयनसम्बन्धी एक दिने अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८१/२०८२ मा समेत ५० रोपनी जमीनमा प्याज खेती विस्तार गरिएको थियो। गत वर्ष २० कृषक संस्थालाई ६ लाख ८० हजार कार्यालयको बजेट रहेको थियो।
यस प्याज प्रवर्द्धन कार्यक्रम लमजुङमा दुई वर्षदेखि सुरु भइरहेको छ। बाहिरी जिल्लाको भर पर्नुपर्ने लमजुङवासीलाई जिल्लामै गरिने यस्ता प्याज खेतीले सहज बनाउने विश्वास लिइएको छ। प्याजको मूल्य र माग राम्रो भएपछि यस खेतीतर्फ किसान आकर्षित हुँदा व्यावसायिक प्याज प्रवर्द्धन कार्यकम प्रभावकारी बन्दै आएको छ। रासस
प्रकाशित: ६ मंसिर २०८२ ०६:३६ शनिबार





