बागलुङ नगरपालिकाले यहाँका खाली जमिनलाई उत्पादनमा लगाउन ‘एक बोट, सयको नोट’ कार्यक्रम ल्याएको छ। बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बुधबार १९औँ नगरसभामा प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले वातावरणको रक्षा गर्दै बाँझो जमिनलाई हराभरा बनाउन र किसानलाई सिधै उत्पादनसँग जोड्न आगामी आर्थिक वर्षमा वातावरणमैत्री नवप्रवर्तन नीतिका रूपमा ‘एक बोट, सयको नोट’ कार्यक्रम ल्याइएको बताए।
यो नीति अन्तर्गत बागलुङ नगरपालिका भित्रका बाँझो र खाली जमिनमा फलफूल, कफी, टिमुर वा बहुमूल्य जडीबुटीका बिरुवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहनस्वरूप प्रतिजीवित बोट बराबर पहिलो वर्ष एक सय रुपैयाँ सिधै अनुदान दिइने उनले बताए। यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष एक सय रुपैयाँ, दोस्रो वर्ष बोट जोगाउन सफल भएमा ७५ रुपैयाँ, तेस्रो वर्ष ५० रुपैयाँ र चौथो वर्ष २५ रुपैयाँ सिधै अनुदान उपलब्ध गराइने नीति नगरपालिकाको छ।
कृषि वनको अवधारणामा आधारित यो कार्यक्रमले गाउँघरमा बढ्दै गएको बसाइँसराइ र बाँझो जमिनको चुनौतीलाई रोक्ने र किसानको श्रमको सम्मान हुने बागलुङ नगरपालिकाले विश्वास लिएको छ। यही कार्यक्रममार्फत किसानलाई आत्मनिर्भरता र दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा डोर्याउन सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठले बताए। नगरपालिकाले उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारको वर्षका रूपमा आगामी वर्षको नीति कार्यक्रम ल्याएको छ।
बागलुङ नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत छोरी जन्मिएपछि मुद्दती खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिँदै आएकोमा आगामी वर्षबाट दोब्बर बनाइने भएको छ। नगरपालिकाले नगर क्षेत्रभित्र छोरी जन्मिएपछि जन्मदर्तापछि प्राप्त निवेदनका आधारमा अहिलेसम्म पाँच हजार रुपैयाँ राखेर २० वर्षे मुद्दती खाता खोलिदिने गरेकोमा अब १० हजार रुपैयाँ पाउनेछन्। छोरी सुरक्षित र आत्मनिर्भर बनाउन यसले भूमिका खेल्ने नगरपालिकाको विश्वास छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा वडा नम्बर ९, १० र ११ का वडा कार्यालयसम्म पक्की सडक पुर्याउने नीति कार्यक्रममा उल्लेख गरेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा बजार क्षेत्रभित्र रहेका विद्युतीय पोलहरूमा राष्ट्रियताको पहिचान झल्किने नेपालको राष्ट्रिय झण्डा अंकित रंग पेन्टिङ गर्ने र सरसफाइ तथा सकारात्मक चेतना जगाउने कलात्मक स्लोगन पेन्टिङ गर्ने नीति कार्यक्रममा जनाएको छ। बागलुङ प्रवेशद्वार मालढुंगादेखि बाङ्गेचौरसम्म रैथाने तथा आकर्षक फूल र बोटबिरुवा रोपी हरित करिडोरका रूपमा विकास गर्ने नीति नगरपालिकाले लिएको छ। छाडा कुकुर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको ‘कुकुर सेल्टर’लाई अझ व्यवस्थित गर्ने र आम सर्वसाधारणबाट विभिन्न अवसरमा पुण्य कमाउने नयाँ बानी, ‘भोका कुकुरलाई एक छाक खाना र पानी’ भन्ने नारासहित नागरिक सहभागिता गराउने नगरको लक्ष्य छ।
नगरपालिकाले शैक्षिक गुणस्तरलाई समयसापेक्ष, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन आवासीय, लिड तथा नमुना विद्यालयको अवधारणालाई नगरव्यापी रूपमा विस्तार गर्ने, वडा नम्बर ११ बाट सफलतापूर्वक सुरु गरिएको आवासीय विद्यालयको नमुना अवधारणालाई क्रमिक रूपमा प्रत्येक वडामा विस्तार गर्ने लक्ष्य राखेको छ। बागलुङ बजारमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको नाममा नापी दर्ता भएको साविकको गोदाम घरको जग्गालाई लिजमा लिने कार्य सम्पन्न भएको र त्यसमा आवश्यक पूर्वाधार विकास गरी व्यवस्थित कृषि उपज, फलफूल तथा मासु बजार स्थापना र सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ।
स्वच्छ, सुरक्षित, व्यवस्थित र दिगो बजार प्रणालीको विकासमार्फत स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण गर्ने नगरको नीति छ। किसानको उत्पादन क्षमता बढाउन सुन्तलामा प्रतिकेजी १० रुपैयाँ, हरियो सागसब्जीमा प्रतिकेजी ५ रुपैयाँ, दूधमा प्रतिलिटर ५ रुपैयाँ तथा अण्डामा प्रति क्रेट २० रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले पाडापाडी संरक्षण गर्ने किसानलाई १० हजार प्रोत्साहन रकम दिने, आगामी वर्षभित्र बागलुङ नगरपालिकालाई पोषणमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने, ज्येष्ठ नागरिकको उचित पालनपोषण र स्याहार गर्ने परिवारलाई वर्ष उत्कृष्ट परिवारका रूपमा नगद पाँच हजारले सम्मान गर्ने कार्यक्रम ल्याएको छ। विपन्न परिवारको मृत्युमा दाहसंस्कारका लागि ७ हजार ५०० आर्थिक सहयोग उपलब्ध गराउने, नगर क्षेत्रभित्र होमस्टे सञ्चालन तथा प्रवर्द्धन गर्ने, उन्नत र नगदेबालीका रूपमा फलफूल खेतीमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको ब्रान्डिङ र प्रवर्द्धनमा ध्यान दिने, कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई साझेदारीमा अगाडि बढाउने लक्ष्य राखिएको छ।
नगरपालिकाले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनलाई नगरको आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्ने तथा ओझेलमा परेका पर्यटन क्षेत्रको पहिचान, संरक्षण तथा पूर्वाधार विकास गरी नयाँ गन्तव्य निर्माण गर्ने जनाएको छ। नगरले ‘जाऔँ है बागलुङ’ अभियानलाई राष्ट्रिय पर्यटन प्रवर्द्धन अभियानका रूपमा विस्तार गर्ने नीति लिएको छ। सडक किनारमा हरित करिडोर तथा मिनी पार्क निर्माण गर्ने, सूचना प्रविधि, कृषि, पर्यटन र निर्माणलगायतका क्षेत्रमा युवा नवप्रवर्तन तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ।
बागलुङ नगरपालिकाले प्रविधि र नवप्रवर्तनमा विद्यार्थीहरूको चासो वृद्धि गर्न डिजिटल क्लबहरूको गठनका लागि विद्यालयहरूसँग समन्वय गर्ने, ‘पढ्दै, सिक्दै, कमाउँदै’ कार्यक्रममार्फत शिक्षा, उत्पादन र उद्यमशीलतासँग जोड्ने नीति लिएको छ। सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै गर्भावस्थामा नियमित चेकजाँच, पोषण कार्यक्रम, परामर्श सेवा, नियमित एवं अनिवार्य खोप, निःशुल्क एम्बुलेन्स सेवा, ग्रामीण अल्ट्रासाउण्ड सेवा तथा संस्थागत सुत्केरी प्रवर्द्धन कार्यक्रमलाई सुदृढ बनाउँदै ‘शून्य होम डेलिभरी’ अभियानलाई पूर्णता दिने नगरपालिकाले जनाएको छ।
श्रमिक तथा असंगठित क्षेत्रका कामदारहरूको तथ्यांक संकलन गरी उनीहरूको सामाजिक सुरक्षा, सीप विकास तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ। नगरपालिकाले बागलुङको सांस्कृतिक पहिचानलाई विश्वसामु पुर्याउनका लागि प्रसिद्ध कालिका भगवती मन्दिर, हनुमान नाच, ४४५ वर्ष पुरानो लक्ष्मीनारायण मन्दिर लगायतलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति कार्यक्रममा उल्लेख गरेको छ। नगरका गौरवका आयोजनाहरू, रणनीतिक सडक, पुल, पदमार्ग, कृषि सडक तथा अधुरा पूर्वाधार आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने र हरित तथा जलवायुमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिने जनाएको छ।
प्रकाशित: १७ असार २०८३ १९:१७ बुधबार





