४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

अब जुम्लाको हिमामा पनि फोरजी सेवा, हट्यो नेटवर्क खोज्न डाँडामा चढ्नु पर्ने बाध्ययता

जुम्लाको हिमा गाउँपालिकामा मोबाइल नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

लामो समयदेखि निर्माणाधीन नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक फोरजी इन्टरनेटसहितको भरपर्दो सञ्चार सेवा सुरु भएको हो।

हिमा गाउँपालिका–५ स्थित कस्तुरीभिडमा स्थापना गरिएको टावर सोमबारदेखि सञ्चालनमा आएको छ। स्थानीय सरकारको समन्वय र नेपाल टेलिकमको लगानीमा टावर सञ्चालनमा आएपछि अब नेटवर्क नटिप्ने समस्या समाधान भएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

‘टावर सञ्चालन भएसँगै टेलिफोन र फोरजी इन्टरनेट सेवा नियमित भएको छ,’ अध्यक्ष शाहीले भने, ‘अब हिमा क्षेत्रमा फोन नलाग्ने र नेटवर्क खोज्दै अग्ला डाँडामा जानुपर्ने अवस्था रहने छैन।’

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख पारस पुजाराका अनुसार काठमाडौं बबरमहलस्थित वायरलेस सेवा निर्देशनालयका सहायक प्राविधिक राजेश गिरी नेतृत्वको पाँच सदस्यीय टोलीले स्थलगत रूपमा उपकरण जडान गरी सेवा सुचारु गरेको हो।

टावर सञ्चालनमा आएसँगै हिमा गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। यसअघि कमजोर नेटवर्कका कारण सामान्य फोन सम्पर्कका लागि पनि घण्टौं हिँड्नुपर्ने बाध्यता थियो।

गाउँमै फोरजी चल्न थालेपछि स्थानीयवासी उत्साहित भएका छन्। ‘अब टाढा रहेका छोराछोरीसँग सजिलै कुरा गर्न पाइने भयो, अनलाइनका काम पनि गाउँबाटै सम्भव हुने भयो,’ हिमा-१ देवार गाउँका स्थानीय नेत्रबहादुर शाहीले खुसी व्यक्त गरे।

विभिन्न निर्माण कम्पनीको ढिलासुस्तीका कारण टावर निर्माण प्रक्रिया लामो समयदेखि अल्झिएको थियो। प्राविधिक टोलीका अनुसार ढिलै भए पनि संरचना पूर्ण भएर सेवा प्रवाह सुरु भएको छ।

यद्यपि, टावरमा जडान गरिएको सोलार प्रणालीले बिहान र बेलुकाको समयमा पूर्ण क्षमतामा काम नगर्ने समस्या देखिएकाले त्यसको समाधानका लागि प्रक्रिया अघि बढाइने जनाइएको छ।

नाग्म बजारमा पनि फोरजी

यसैबीच, नेपाल टेलिकमले जुम्ला र कालिकोटको सीमामा पर्ने नाग्म बजारमा पनि १८ सय ब्यान्डको फोरजी इन्टरनेट सेवा विस्तार गरेको छ।

हिमा-५ को टावरलाई नाग्ममाथि रहेको मुख्य टावरसँग लिङ्क गराएर सेवा प्रवाह गरिएको टेलिकमले जनाएको छ। व्यस्त व्यापारिक केन्द्र नाग्ममा इन्टरनेट सेवा सुदृढ हुँदा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

हिमाली भेगमा सञ्चार पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, व्यापार र सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

प्रकाशित: १४ पुस २०८२ १८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App