२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

अर्थशास्त्रतर्फको नोबेल तीन अनुसन्धानकर्तालाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अनुसन्धानकर्तालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको सिद्धान्त विकास गर्ने योगदानका लागि जोएल माकर, फिलिप एगिअन र पिटर हाउइटलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

समितिका अनुसार, पुरस्कारको एक भाग प्राविधिक उन्नतिमार्फत दीर्घकालीन आर्थिक वृद्धिको आधारभूत पक्ष पहिचान गर्ने जोएल माकरलाई दिइनेछ । बाँकी भाग सिर्जनात्मक विनाशमार्फत दीर्घकालीन वृद्धिको सिद्धान्त प्रतिपादन गर्ने फिलिप एगिअन र पिटर हाउइटलाई प्रदान गरिनेछ ।

माकर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध छन् । एगिअन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग, र हाउइट अमेरिकाको ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् ।

योसँगै यस वर्षका सबै नोबेल विजेताहरूको घोषणा सम्पन्न भएको छ । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधातर्फका पुरस्कार विजेताहरूको घोषणा भइसकेको थियो ।

नोबेल पुरस्कारको वितरण आगामी डिसेम्बर १० मा स्वीडनको स्टकहोममा विशेष समारोहबीच गरिनेछ । यस्तै, नोबेल शान्ति पुरस्कार भने नर्वेको ओस्लोमा प्रदान गरिन्छ ।

हरेक विधामा पुरस्कृत व्यक्ति वा संस्थाले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कारसहित पदक प्राप्त गर्छन् । डिसेम्बर १० का दिन नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको स्मृति दिवस पनि मनाइन्छ ।

प्रकाशित: २७ आश्विन २०८२ १६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App