नेप्से परिसूचक बुधबार पनि ८.७० अंकले बढेको छ। लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएपछि नेप्से २६४७.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले बढेको छ।
नेप्सेसँगै बुधबार कारोबार रकममा पनि मंगलबारको तुलनामा करिब ६० करोडले वृद्धि भयो। बुधबार ३५६ स्टकको ५२ हजार ६६९ पटकको कारोबारमा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढ्दा हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन उर्जा विकास कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भयो। कुमारी बैंकको २२ करोड र ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये बुधबार १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूह होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।
प्रकाशित: ९ मंसिर २०८३ १५:२० बुधबार





