१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

देवानगञ्ज घटनापछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि तनाव थप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। देवानगञ्जमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि मंगलबार घटनाको विरोधमा सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएको थियो। 

प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएपछि प्रशासनले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था अपनाएको हो।  जिल्ला प्रशासन कार्यालयले पकलीदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको जनाएको छ। 

यस क्षेत्रभित्र सर्वसाधारणलाई आवतजावत, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक गर्न तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यस्तै, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम इनरुवा बजार क्षेत्रका मुख्य भागमा पनि कर्फ्यू लागू गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालद्वारा जारी सूचनामा शान्ति–सुरक्षा कायम राख्न उक्त निर्णय गरिएको उल्लेख छ। 

यसअघि नै झडप भएको देवानगञ्ज क्षेत्रमा सोमबारदेखि कर्फ्यू आदेश लागू रहेको छ। घटनापछि सुरक्षा निकायको उपस्थिति बढाइएको छ भने स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।  

प्रकाशित: १२ श्रावण २०८३ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App