१ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

नेप्से घट्नेक्रम जारी, कारोबार रकम साढे चार अर्बभन्दा कम

नेप्से परिसूचक झण्डै २७ सय विन्दुमा झरेको छ । कारोबार हुने साताको पहिलो दिन आइतबार ११.५२ अंकले घटेर नेप्से परिसूचक २७०८.२५ विन्दुमा झरेको हो। यो लगातार चौथो दिनको गिरावट हो । सेन्सेटिभ इण्डेक्स २.३२ अंक, फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेपछि समग्र नेप्से प्रभावित बनेको हो ।  

कारोबार रकम पनि घटेर ४ अर्ब ४० करोडमा सीमित भएको छ । गत बिहीबार ५ अर्ब १४ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आइतबार भने ३३४ स्टकको ५८ हजार ८७ पटकको कारोबारमा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड ११ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।  

हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभल ९.९७ प्रतिशत अर्थात् ३५ रुपैयाँ ५० पैसा बढेर ३९१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य ५.८३ प्रतिशत र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ५.१२ प्रतिशत बढेको छ भने पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ४.६२ प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको युनियन हाइड्रोपावर कम्पनीको २९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २७ करोड र एभरेष्ट बैंकको २२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।  

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा सामान्य वृद्धि हुँदा जलविद्युत उपसमूहको ०.६८ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.६५ प्रतिशत घटेको छ।

प्रकाशित: २२ भाद्र २०८२ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App