नेपाली नागरिक विदेश घुम्न जाने क्रम बढ्दै जाँदा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने देखिएको छ। नेपाल आउने विदेशी पर्यटकबाट हुने आम्दानीभन्दा नेपालीले विदेश यात्रामा गर्ने खर्च उल्लेख्य रूपमा बढी रहेको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना माघसम्मको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्ययमा नेपालीहरूले कुल एक खर्ब २१ अर्ब २७ करोड रुपैयाँ विदेशमा खर्च गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.१ प्रतिशतले बढी हो।
गत वर्ष सोही अवधिमा नेपालीहरूले विदेश भ्रमणमा एक खर्ब १५ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका थिए । यसरी विदेश भ्रमणमा हुने खर्च लगातार बढ्दै जाँदा सेवा क्षेत्रको सन्तुलनमा पनि दबाब परेको देखिन्छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय ५० अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३६ अर्ब १७ करोड रुपैयाँ मात्र थियो। भ्रमण व्यय उच्च दरमा बढेपछि सेवा खाताको घाटा पनि बढ्दै गएको हो।
नेपाल आउने विदेशी पर्यटकबाट हुने आम्दानी भने घट्दो देखिएको छ। समीक्षा अवधिमा भ्रमण आय २.६ प्रतिशतले घटेर ४७ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४९ अर्ब २८ करोड रुपैयाँ रहेको थियो।
यसरी हेर्दा नेपालमा विदेशी पर्यटकबाट प्राप्त हुने आम्दानीभन्दा नेपालीहरूले विदेश यात्रामा गर्ने खर्च करिब ५० अर्ब रुपैयाँ बढी रहेको देखिन्छ।
पछिल्ला वर्षहरूमा नेपालीहरू विदेश घुम्न जाने प्रवृत्ति तीव्र रूपमा बढेको छ। विशेषगरी छिमेकी तथा दक्षिण–पूर्वी एसियाली देशहरू नेपालीका लोकप्रिय गन्तव्य बनेका छन्। नेपालीहरू सबैभन्दा बढी जाने देशहरूमा भारत, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, चीन र जापान प्रमुख रहेका छन्।
विशेषगरी थाइल्यान्ड, दुबई र मलेसिया नेपाली पर्यटकका लागि सस्तो र सहज गन्तव्यका रूपमा लोकप्रिय छन् । पछिल्ला वर्षहरूमा दक्षिण–पूर्वी एसियाली देशहरूमा ‘प्याकेज टुर’ मार्फत घुम्न जाने चलन बढेको छ।
यसैगरी धार्मिक तथा सांस्कृतिक भ्रमणका लागि ठूलो संख्यामा नेपालीहरू भारत जाने गरेका छन् । त्यस्तै, अध्ययन, तालिम र व्यावसायिक भ्रमणका लागि विभिन्न देश जाने गरेका छन्।
पर्यटन व्यवसायीहरूका अनुसार नेपालीहरू विदेश घुम्न जाने प्रवृत्ति बढ्नुका पछाडि केही प्रमुख कारण छन् । पछिल्लो समय नेपालीहरूको आयस्तर केही बढेको छ। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सका कारण धेरै परिवारको आर्थिक क्षमता बढेको छ। त्यसको प्रभाव विदेश भ्रमणमा पनि देखिएको छ।
ट्राभल एजेन्सीहरूले सस्तो प्याकेज उपलब्ध गराउन थालेका छन्। पाँचदेखि सात दिनसम्मका प्याकेज टुरमार्फत थाइल्यान्ड, मलेसिया वा दुबई जस्ता देशमा सहज रूपमा भ्रमण गर्न सकिने भएकाले नेपालीहरू आकर्षित भएका छन्।
सामाजिक सञ्जालको प्रभाव पनि महत्त्वपूर्ण रहेको छ। विदेश घुम्ने संस्कृतिलाई प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्तिका कारण पनि युवापुस्तामा विदेश भ्रमणको आकर्षण बढेको छ।
राष्ट्र बैंकका अनुसार विदेश भ्रमण गर्दा हुने खर्चमा हवाई टिकट, होटल बसाइ, खानपान, स्थानीय यातायात, किनमेल तथा मनोरञ्जन खर्च समावेश हुन्छ। त्यसैगरी क्यासिनो, मनोरञ्जन केन्द्र, सपिङ मल तथा विभिन्न पर्यटकीय गतिविधिमा खर्च हुने रकम पनि भ्रमण व्ययमा गणना हुन्छ। विभिन्न कर्पोरेट हाउसले विदेशमा हुने अल्पकालीन तालिम, सम्मेलन, प्रदर्शनी वा व्यवसायिक भेटघाटका लागि लैजाने गरेका छन्। यी विषय हुने खर्च पनि सेवा खाताअन्तर्गत भ्रमण व्ययमा समावेश गरिन्छ।
विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका कारण पनि ठूलो रकम विदेश जाने गरेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शिक्षातर्फ मात्रै ६४ अर्ब १० करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ। अष्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत, युरोपेली देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दै जाँदा शिक्षातर्फको विदेशी मुद्रा बाहिरिने क्रम पनि तीव्र भएको हो।
विदेश भ्रमण तथा अध्ययनका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढ्दा सेवा खातामा घाटा बढ्ने जोखिम रहन्छ। अध्ययन र रोजागारीका लागि जाने नेपालीले भने रेमिटेन्स पठाउने गरेका छन्। विदेश घुम्न जाने प्रवृत्ति बढ्नु आर्थिक गतिविधि विस्तारको संकेत पनि मानिन्छ तर विदेशी मुद्रा सन्तुलन कायम राख्न नेपालमा विदेशी पर्यटकको आगमन बढाउनु आवश्यक रहेको छ।
पर्यटन क्षेत्रको पूर्वाधार विस्तार, सेवा गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार प्रभावकारी बनाउन सके विदेशी पर्यटकको आगमन बढ्ने र त्यसबाट प्राप्त आम्दानीले सेवा खाताको घाटा कम गर्न मदत पुग्छ।
प्रकाशित: २९ फाल्गुन २०८२ ०८:३१ शुक्रबार





