कुनै बेला दैनिक रूपमा मुस्किलले १० हजार रुपैयाँ बराबरको कारोबार गर्ने नेपालगन्ज एकलैनीका विकास गुप्ताको अचेल दैनिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार हुन्छ। किराना व्यवसाय गरिरहेका उनको पसलमा अचेल उपभोक्ताको बढी भिडभाड हुन्छ।
खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरू उनले बिक्रीका लागि राखेका छन्। सरकारले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने बाध्यकारी व्य वस्था ल्याएसँगै नाकामा कडाई गरेपछि गुप्ताको पसलमा केही समय यता चहल पहल बढेको हो। ‘पसलमा ग्राहकहरूको भिड बढेको छ, व्यापार अहिले ठिकै चलेको छ,’ उनले नागरिकसँग भने, ‘अहिले म जस्ता हरेक व्यापारी खुसी छन्।’
व्यापार बढेपछि आफू लगायत धेरै व्यापारीहरू अहिले खुसी रहेको गुप्ताले सुनाए। ‘पहिले दैनिक रूपमा मुस्किलले १० हजार बराबरको कारोबार हुन्थ्यो, अहिले ८० हजारदेखि एक लाखसम्मको पनि कारोबार हुन्छ,’ उनले थपे। सरकारले यो नीतिलाई कडाइका साथ लागु गर्नुपर्ने उनको माग छ। ‘सस्तो मूल्यमा पाइने भन्दै नेपाली उपभोक्ताहरू पहिले सामान किन्न रुपैडिहा बजार जाने प्रवृत्ति थियो, सरकारले कडाइ गरेपछि अहिले सीमापारि जाने ति उपभोक्ताहरू हाम्रो पसलमा आएर सामान किन्न थालेका छन्,’ गुप्ताले भने।
गुप्ता जस्तै पुस्तक व्यवसायी विश्वम्भर ओलीको पनि अनुभव उस्तै छ। नेपालगन्जको गुरुद्धारा नजिक स्टेशनरी पसल चलाइरहेका उनी पछिल्लो समयमा व्य वसाय ह्वात्तै बढेको बताउँछन्। ‘अहिले नेपाली उपभोक्ताले नेपालगन्जमै स्टेशनरीका सामान किन्न थालेका छन्, त्यस कारण स्वाभाविक रूपले हाम्रो व्यापारमा वृद्धि भएको छ,’ व्यवसायी ओलीले भने।
उनका अनुसार सरकारले भन्सारमा कडाई नगर्दा प्रायः नेपाली उपभोक्ताहरू पाठ्यपुस्तक बाहेक अन्य सामान किन्न रुपैडिहाका पसलहरू धाउँथ्ये। अहिले भने सबै सामान नेपालगन्जका पसलबाट किन्ने गरेको उनले सुनाए। यसअघि दैनिक रूपमा हजारौंको संख्यामा नेपाली उपभोक्ताहरू सीमापारि रुपैडिहा जाने गरेका थिए। त्यसरी नेपाली उपभोक्ताहरू किनमेलका लागि जादाँ दैनिक रूपमा करोडौं रुपैयाँ देश बाहिर जाने गरेको थियो। यसले गर्दा व्यापारीहरू निराश थिए। यस विषयमा व्यापारीहरूले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए। तर पनि, नेपाली व्यवसायीको मागप्रति सुनुवाइ भएको थिएन। सरकारको कडाइपछि बजार चहलपहल भएसँगै व्यापार व्यवसायमा वृद्धि भएपछि व्यवसायीहरू खुसी देखिन्छन्।
भारतबाट नेपालगन्ज नाका हुँदै पेट्रोलियम पदार्थ, मोटर पार्ट्स, खाद्यान्न, कपडा, तरकारी, फलफूलजन्य लगायत सामानहरू आयात हुन्छन्, भने नेपालगन्जबाट जडिबुटी लगायतका सामानहरू निर्यात हुन्छन्। उपभोक्ताले एक सय रुपैयाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नीति कार्यान्वयनमा आउँदा यसले नेपाली व्यापारी, किसानलाई ठुलो राहत दिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी बताउँछन्। ‘सरकारले भन्सारमा कडाइ गर्दा अहिले नेपालगन्जको व्यापारमा ७५ देखि १ सय प्रतिशतसम्म वृद्धि भएको छ,’ उनले भने, ‘यही नीतिलाई निरन्तरता दिइयो भने नेपालगन्जमा व्यापार व्य वसायप्रति मान्छेको आर्कषण बढ्नेछ।’ सरकारले भन्सार चेकजाँचलाई कडाइका साथ अगाडि बढाउनुपर्ने अध्यक्ष धामी बताउँछन्।
सरकारले एक सयभन्दा बढीको सामान ल्याउँदा भन्सार गराउनुपर्ने नियम ल्याएपछि केही व्यक्तिले अफवाह फैलाउने काम गरेको उनको आरोप छ। ‘नेपाली उपभोक्ताहरू यसअघि रुपैडिहा बजारमा ठगिने गरेका थिए, अहिले नेपाली उपभोक्ताहरूले आफ्नै देशमा किनमेल गर्न पाएका छन्, व्यापारी र किसानले राज्यलाई कर तिरेर पनि आफ्नो सामान र उत्पादन बिक्री गर्न पाएका छन्,’ धामीले थपे।
प्रकाशित: २४ वैशाख २०८३ १३:०७ बिहीबार





