२ भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब माथि

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रुपमा बढाएको छ।

नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार वैशाखदेखि असार मसान्तसम्ममा मात्र रु चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ।

तेस्रो त्रैमासमा रु तीन अर्ब १४ करोड ८० लाख १८ हजार नाफा नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा रु एक अर्ब पाँच करोड ४४ लाख ३४ हजार बढाएको हो।

सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढाउने कार्यलाई प्राथमिकतामा राखेर सुधारका काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढेका छन्।

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयले तयार नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा नेपाल टेलिकमका सेवा सुधारलाई प्राथमिकतामा राखिएको थियो।

सुधारका लागि सरकारी प्रयासको नतिजा कम्पनीको वित्तीय स्वास्थ्यमा पनि देखिन थालेको हो।

नेपाल टेलिकमका प्रवक्त कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु दि होम’ (एफटिटिएच) र जिएसएम डाटा खपत बढ्दा आम्दानी बढेको छ।

‘पछिल्लो समय भ्वाइसमा भन्दा डाटा खपत बढेको छ । कम्पनीको सञ्चालन खर्च पनि गतवर्षको तुलनामा घटेको छ। आम्दानी बढेको र खर्च घटेको कारण समग्र नाफा बढेको हो’, उनले भने।

नेपाल टेलिकमले गत आर्थिक वर्षमा विज्ञापन र प्रायोजनलगायतका शीर्षकको खर्च कटौतीबाट रु १० करोड देखि १५ करोड हाराहारी बचत गरेको थियो।

टेलिकमले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा रु एक अर्ब २२ करोड ४८ लाख चार हजार नाफा कमाएको थियो।

अर्थात् टेलिकमले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षको सरेहि अवधिमा करिब रु तीन अर्बले नाफा बढाएको हो। यो कर अघिको मुनाफा हो।

यो अवधिमा टेलिकमको कुल आम्दानीमा समेत उल्लेख्य वृद्धि देखिएको छ। गत बैशाखदेखि असार मसान्तसम्ममा टेलिकमले रु १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार कुल आम्दानी गरेको छ।

जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा रु ५८ करोड ८२ लाख १२ हजार ४२८ ले बढी हो।

आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा नेपाल टेलिकमले रु नौ अर्ब ७५ करोड ६५ लाख ३९ हजार ७८२ बराबर कुल आम्दानी गरेको थियो।

वार्षिक करिब नौ अर्ब खुद मुनाफा

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ।  

कम्पनीले गत शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा रु दुइ अर्ब ८५ करोड ७९ लाख अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु छ अर्ब ६७ लाख थियो। एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो।

कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा रु नौ अर्ब ८५ करोड २ लाख रहेको थियो। यस आधारमा करअघिको मुनाफा रु तीन अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी रु २० अर्ब ४८ करोड १ लाख पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको रु १८ अर्ब ४९ करोड ६० लाखको तुलनामा यस्तो आम्दानी गत आर्थिक वर्षमा रु एक अर्ब ९८ करोड ४१ लाख अर्थात् १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा रु ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म यस्तो आय रु ३३ अर्ब ८९ करोड ४५ लाख थियो।

अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय रु एक अर्ब ५ करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो।

कम्पनीको कुल आयसमेत बढेको छ। समीक्षा अवधिमा कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो।

यसअनुसार कुल आय रु १ अर्ब १ करोड १५ लाख अर्थात्  दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको प्रति शेयर आम्दानी (वार्षिकीकरण गरिएको) रु ४९ दशमलव २५ रहेको छ।

ब्याज आम्दानी घटे पनि मुनाफामा वृद्धि

कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ब्याज आम्दानी करिब रु ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ।

तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ।

विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ। कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व रु ६४ करोड ५४ लाख अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ।

प्रकाशित: २ भाद्र २०८३ १९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App