अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक संख्यामा पाहुना पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै सबैभन्दा बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना अन्नपूर्ण क्षेत्रको भ्रमणमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
विदेशी बाहेक अन्नपूर्ण क्षेत्रमा जाने आन्तरिक पाहुनाको संख्या झनै ठूलो रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा ६ लाख बढि आन्तरिक पाहुना उक्त क्षेत्रमा घुमघाममा गएको एक्यापको भनाई छ। स्वदेशी र विदेशी गरेर आर्थिक वर्ष २०८२/८३ मा ११ लाख भन्दा बढि पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापले बताएको छ।
एक्यापका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा गएका पाुहना मध्ये ३ लाख ८४ हजार १ सय ४५ जना सार्क मुलुकका पाहुना छन्। सार्क बाहेकका तेश्रो मुलुकका पाहुनाको संख्या १ लाख २४ हजार ३ सय ३१ रहेको आयोजना प्रमुख डा.रविन कडरियाले जानकारी दिए।
एक्यापका अनुसार कोरोना भाइरस संक्रमण अघि आर्थिक वर्ष २०७५/७६ मा अन्नपूर्ण क्षेत्रमा सबैगरि १ लाख ८३ हजार ३ सय ५८ जना पाहुना पुगेका थिए। त्यो संख्या आर्थिक वर्ष २०७६/७७ मा १ लाख ४ हजार १ सय ६५ जना पाहुना अन्नपूर्ण क्षेत्र घुमेका थिए। कोरोनाको प्रभावले गर्दा आर्थिक वर्ष २०७७/७८ मा भने जम्मा ४ हजार ९ सय ६१ जना पाहुना पुगेका थिए।
आर्थिक वर्ष २०७८/७९ मा भने ७५ हजार ८ सय २४ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए। आर्थिक वर्ष २०७९/८० मा भने कोरोना संक्रमणको प्रभाव कम भएपछि १ लाख ७२ हजार ५ सय १० जना पाहुना घुम्न गएका थिए। आर्थिक वर्ष २०८०/८१ मा भने २ लाख २२ हजार १ सय ८० जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए। आर्थिक वर्ष २०८१/८२ मा भने २ लाख ७८ हजार १ सय १३ जना पाहुना अन्नपूर्ण क्षेत्रमा गएका थिए।

घुमघाममा गएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय छन्। आर्थिक वर्ष २०८२/८३ मा भारतका मात्र ३ लाख ७५ हजार ७ सय ९७ जना रहेका छन्। दोश्रो नम्बरमा चिनियाँको संख्या १२ हजार ५ सय ३९ जना रहेका छन्। तेश्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या ९ हजार ८ सय ८४ जना अन्नपूर्ण क्षेत्रमा गएका छन्। चौथो नम्बरमा रहेका बेलायतका ८ हजार ८ सय ५९ जना रहेका छन्।
त्यस्तै फ्रान्सका पाहुनाको संख्या ७ हजार ९ सय ३९ जना रहेका छन्। मलेशियाका पाहुनाको संख्या ७ हजार ८ सय ४८, जर्मनी पाहुनाको संख्या ७ हजार ६ सय ३४ रहेको छ। बंगलादेशी पाहुनाको संख्या ७ हजार ४ सय ८४, अस्टेलियाका पाहुनाको संख्या ७ हजार ९५ र इजरायली पाहुनाको संख्या ६ हजार ३ सय ९८ रहेको एक्यापले बताएको छ।
‘आन्तरिक पाहुनाको यकिन विवरण एक्याले राख्दैन। तर, उक्त क्षेत्रमा घुमघामका गएका पाहुनाको विवरण प्रहरीले लिने गरेको छ। प्रहरीको त्यही तथ्यांकलाई आधार भनेर आन्तरिक पाहुनाको आकार निकालिएको हो,’ उनले भने, ‘पछिल्लो समय त आन्तरिक र भारतीय पाहुनाको आकार अन्नपूर्ण क्षेत्रमा निकै नै उकालिएको छ।’
मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीयको आकार बढेकोले गर्दा पनि अन्नपूर्ण क्षेत्र योपटक पाहुनामय बनेको उनले बताए। ‘आन्तरिक र भारतीयले त बास पाउनै पनि मुस्किल भयो। सिजनको बेला यो पटक मुस्ताङ र मनाङले पाहुनालाई आतिथ्यता दिन समेत हम्मेहम्मे भयो,’ उनले भने, ‘सिजनका बेला त त्यहाँको क्षमता पनि अपुग भएको छ।’ भारतीय पाहुनाको योपटक पोखरामा मात्र चाप परेको होइन, त्यो भीडभाड हिमाली क्षेत्रमा समेत देखिएको उनले बताए।
गन्तव्यसम्मको सहज पहुँचका कारण हिमाली क्षेत्रसम्म पाहुना पुग्न सहज भएको उनले बताए। पछिल्लो समय भारतीय पाहुना आफ्नै सवारी लिएर मुक्तिनाथसम्म उक्लिन थालेका छन्। त्यसले गर्दा पनि भीडभाड बढेको उनले बताए। ‘मुक्तिनाथ मात्र नभई अन्नपूर्ण आधारशिविर (एबिसी) मात्र समेत यो वर्ष २५ हजार हाराहारीमा भारतीय पाहुना पुगेका छन,’ उनले भने, ‘आधारशिविरसम्म उक्लने भारतीयको संख्या अघिल्ला वर्षसम्म कम थियो। तर, यो पटक अधिक नै भएको छ। यसले पनि आगमनलाई उकासेको हो।’ पदयात्राकै लागि भनेर भारतीय पर्यटक नेपाल आउन थालेको उनले बताए। ‘भारतीय पाहुना अब धार्मिक मात्र होईनन, पदयात्री पनि हुन,’ उनले भने।
पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा जानेमा बंगलादेशी पाहुनाको आकार पनि बढि रहेको छ। बंगलादेशी पाहुनाको नेपालमा आगमन थपिएसँगै अन्नपूर्ण क्षेत्रले पनि आकार बढाएको उनले बताए।
‘अन्नपूर्ण क्षेत्र जाने उत्कृष्ट १० मुलुकका पाहुनाको समूहमा बंगलादेश पनि पर्न थालेको छ। बंगलादेशी पाहुना पनि पदयात्रा क्षेत्रका लागि नयाँ पाहुना हुनु,’ उनले भने, ‘भारतीय र बंगलादेशी पाहुना पनि पदयात्रा क्षेत्रले पाउन थालेको छ। यूरोपियन र अमेरिकी पाहुना मात्र नभई नयाँ पाहुनालाई अन्नपूर्ण क्षेत्रले भित्र्याउन पाएको छ।’
अन्नपूर्ण क्षेत्रमा समग्रमा पाहुना आगमन बढेको भएपनि समग्रमा तेश्रो मुलुकका विदेशीको संख्या भने उल्लेख्य बढ्न सकेको छैन। आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा जम्मा १ लाख २० हजार ३ सय २७ जना तेश्रो मुलुकका पाहुना गएका थिए। त्यो आगमन पछिल्लो वर्ष बढेर १ लाख २४ हजार ३ सय ३१ पुगेको छ।
‘तेश्रो मुलुकका विदेशी अन्नपूर्ण क्षेत्रमा सोचेजस्तो आकारमा गएका छैनन। मोटरबाटोले गर्दा पुरानो पदयात्राको रुट ध्वस्त भएपछि विदेशी अन्यत्र डाइभर्ट भएका छन। त्यसबाहेक मध्यपूर्वका मुलुकमा निम्तिएको युद्धले पनि अमेरिकी र यूरोपियन मुलका विदेशीको आगमन प्रभावित भयो,’ उनले भने, ‘पाहुना आगमन प्रभावित भएपनि आएका पाहुना पनि अन्नपूर्णको साटो अन्यत्र गए। त्यसको कारण भनेकै मोटरबाटोले बिगारेको रुटको हो।’ मोटरबाटोले बिस्थापित भएको अन्नपूर्ण क्षेत्रको पुरानो रुटको ठाउँमा नयाँ रुट पहिचान गरेर प्रवर्द्धन गर्न थालेको प्रमुख कडरियाले जानकारी दिए।
प्रकाशित: ४ श्रावण २०८३ १७:३२ सोमबार





