स्विट्जरल्यान्डमा बस्दै आएका नेपाली नगेन्द्र पुरीले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ लाख रुपैयाँ सहयोग गरेका छन्। सिन्धुपाल्चोक घर भएका पुरीले आफ्नो व्यक्तिगत रकमसँगै स्विस साथीहरूबाट समेत रकम जुटाएर सहयोग गरेका हुन्।
विगत आठ वर्षदेखि स्विट्जरल्यान्डमा बस्दै आएका पुरीले गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नेपालीलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम पठाएका हुन्।
नागरिक न्यूजसँग कुरा गर्दै पुरीले विपद्का बेला आफ्नो देशका नागरिकलाई सहयोग गर्न रकम जुटाएको बताए। 'आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने लागेर व्यक्तिगत रकमसँगै साथीहरूबाट पनि रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हुँ,' उनले भने।
पुरीका अनुसार स्विट्जरल्यान्डका साथीहरूलाई नेपाली परिकार दालभात पकाएर खुवाउने क्रममा पनि सहयोग रकम जुटेको हो। नेपाली खानाको स्वाद चाख्न पाएका उनका स्विस साथीहरूले समेत स्वेच्छाले रकम दिएका थिए।
'मैले साथीहरूलाई नेपाली दालभात पकाएर खुवाएको थिए। नेपाली खाना खाएपछि साथीहरूले पनि खुसी भएर सहयोग रकम दिनुभयो। मेरो आफ्नो रकममा उहाँहरूले दिएको रकम थपेर सहयोग गरेको हुँ,' पुरीले भने।
विदेशमा रहे पनि आफ्नो देशमा विपद् पर्दा सहयोग गर्ने भावनाले रकम संकलन गरेको उनले बताए। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम पठाएको उनको भनाइ छ।
प्रकाशित: १८ आश्विन २०८३ १३:३७ आइतबार





