कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आएका छन्। उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आइरहेका हुन्।
पाँच वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहेका छन्।
बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका उनले त्यसबाट मनग्य आम्दानी गरिरहेका छन्। चौधरीले भन्छन्, ‘पहिले ज्ञान, सीप कम थियो। छ महिनामात्रै च्याउ उत्पादन गर्थे, बिस्तारै अनुभव पनि बढ्यो। हाल बाह्रै महिना उत्पादन गर्न थालेको छु। आम्दानी पनि राम्रै छ।’
सातवटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर वार्षिक १० लाख आम्दानी हुने उनी सुनाउँछन्।
हाल बजारमा च्याउ प्रतिकिलो १८० का दरले बिक्री भइरहेको छ। चौधरीले बजारको मागअनुसार च्याउ आपूर्ति गर्न सकिए अझै आम्दानी बढ्ने बताए। ‘बजारमा माग बढी छ। मैले मागअनुसार च्याउ पूर्ति गर्न सकिरहेको छैन। हाल प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आइरहेको छु।’ उनले सुनाए।
चौधरी च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने गरेको बताउँछन्। यसै व्यवसायबाट चार जनाको परिवारको लालनपालन, छोराछोरीको पढाइलेखाइ, खर्च राम्रै चलिरहेको र बचत पनि हुने गरेको उनले बताए।
यसबाटै भएको कमाईबाट च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा पनि किनेको चौधरी बताउँछन्।
‘आफ्नो परिवारको खर्च धान्ने मात्रै होइन, आठ जनालाई रोजगारीसमेत दिएको छु’, चौधरीले भने, ‘दैनिक प्रतिव्यक्ति छ सयदेखि ७०० सम्म ज्याला दिन्छु।’ रासस
प्रकाशित: १० कार्तिक २०८२ १५:०३ सोमबार





