२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

फाइल तस्बिर

नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याको समाधानका लागि संसद् र नीति निर्माण तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मोबाइल व्यवसायीहरूले भोगिरहेका कानुनी तथा व्यावसायिक समस्या आफूले नजिकबाट बुझेको बताइन्। कार्यक्रममा सहभागी भएपछि धेरै नयाँ विषयबारे जानकारी पाएको उल्लेख गर्दै व्यवसायीका सुझाव र मागलाई नीति निर्माण प्रक्रियामा प्राथमिकताका साथ उठाउने उनले बताइन्।

सांसद थपलियाले नेपालमा सेकेन्ड ह्यान्ड मोबाइलको बिक्री कानुनी रूपमा स्पष्ट व्यवस्था नहुँदा ठूलो समस्या सिर्जना भएको बताइन्। विदेशमा यस्तो कारोबार कानुनी रूपमा सञ्चालन भइरहेका बेला नेपालमा भने अनौपचारिक रूपमा बिक्री–वितरण भइरहेकाले राज्यले राजस्वसमेत गुमाइरहेको उनको भनाइ थियो।

"यस विषयलाई मैले गम्भीर रूपमा लिएको छु। सदन र नीति निर्माण तहमा उठाएर आवश्यक कानुनी सुधारका लागि पहल गर्नेछु। कानुनी त्रुटि सच्याउन व्यवसायीहरूले पनि आवश्यक सुझाव र आधार उपलब्ध गराइदिनुहोस्," उनले भनिन्।

उनले सेकेन्ड ह्यान्ड मोबाइल कारोबारलाई कानुनी मान्यता दिन आवश्यक कानुनी संशोधन र नीतिगत सुधार अपरिहार्य रहेकोमा जोड दिइन्।

सांसद थपलियाले मोबाइल मर्मत व्यवसायीहरूले पनि स्पष्ट कानुनी व्यवस्था नहुँदा अनाहकमा समस्या भोग्नुपरेको उल्लेख गरिन्। चोरी भएको मोबाइल मर्मत गर्दा मर्मत व्यवसायी नै कानुनी कारबाहीमा पर्ने अवस्था अन्त्य गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

उनले कर छली नियन्त्रण गर्दै सम्पूर्ण कारोबारलाई राजस्वको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै व्यवसायी सशक्त भए मात्रै देशको अर्थतन्त्र मजबुत हुने, स्वदेशमै रोजगारी सिर्जना हुने र युवाको विदेश पलायनसमेत घट्ने विश्वास व्यक्त गरिन्।

मोबाइल व्यवसायीहरूले न्यून नाफा, कानुनी जटिलता र बजार व्यवस्थापनका चुनौती सामना गरिरहेको उल्लेख गर्दै उनले विदेशबाट भित्रिने मोबाइलको प्रभावकारी निगरानी गरी वैध व्यवसायीको संरक्षण गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन्।

 

प्रकाशित: २७ असार २०८३ १८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App