२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

बढ्दै सामाजिक सुरक्षा कोषमा आकर्षण: थपिए साढे ४५ हजार योगदानकर्ता, २ अर्ब सङ्कलन

सामाजिक सुरक्षा कोषमा एक महिनामा मात्रै दुई अर्बभन्दा धेरै रकम संकलन भएको छ। पछिल्लो समय कोषमा आवद्ध हुने योगदानकर्ताको संख्या बढ्दै गएको छ। योसँगै योगदान रकम पनि थपिएको हो।

कोषका अनुसार फागुन महिनामा मात्रै २ अर्ब १६ करोड ४८ लाख १९ हजार २७८ रुपैयाँ कोषमा जम्मा भएको छ। हालसम्म कोषमा २३ हजार १९० रोजगारदाताबाट ६ लाख ८४ हजार ९६१ जना योगदानकर्ता सूचीकृत भएका छन्।

यस्तै, वैदेशिक रोजगारीमा गएका २१ लाख ६१ हजार २ जना, अनौपचारिक ८८१ र स्वरोजगार ८२६ गरी २८ लाख ४७ हजार ६७० जना योगदानकर्ता सूचीकृत भएका छन्। 

कुन प्रदेशमा कति योगदानकर्ता ?

सबैभन्दा धेरै योगदानकर्ता बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा मात्रै १५ हजार ३३९ रोजगारदाताबाट ५ लाख ८ हजार ८८० जना योगदानकर्ता सूचीकृत छन्।

कोशी प्रदेशा ७७ हजार ४०७, लुम्बिनीमा २७ हजार ६८५, मधेसमा ३३ हजार ३९०, गण्डकीमा २९ हजार ९४४, सुदूरपश्चिममा ४ हजार ६१७ र कर्णालीमा ३ हजार ३८ जना योगदानकर्ता छन्।

फागुन महिनामा मात्रै १८४ रोजगारदाता थपिँदा ४५ हजार १६८ योगदानकर्ता कोषमा समावेश भएका छन्।  

के-के छन् यसका सुविधा ?

कोषले योगदानकर्तालाई कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीले पाए सरहको सुरक्षा, छुट र सुविधा दिने व्यवस्था गरेको छ। यसले श्रमिकलाई सामाजिक सुरक्षामा थप आकर्षित गर्ने सरकारको अपेक्षा छ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरु छन्। जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अशक्तता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा वृद्धावस्था सुरक्षाको सुविधा लगायतका व्यवस्थाहरु छन्।

सामाजिक सुरक्षा कोषले योगदानकर्ताका छोराछोरीलाई पनि स्वास्थ्योपचार सुविधा दिन थालेको छ। यसअघि योगदानकर्ता र तिनका श्रीमान/श्रीमती मात्रै सीमित उक्त सुविधा गत वैशाखदेखि कार्यान्वयनमा आएको हो।

६ महिनाको योगदानमा कम्तीमा तीन महिना लगातार योगदान गर्ने योगदानकर्ता, तिनका श्रीमान/श्रीमती र १८ वर्षसम्मका छोराछोरीले उक्त सुविधा पाउनेछन्।

कोषले यी व्यवस्थाहरुको कार्यान्वयन गर्ने काम गर्छ। कार्यान्वयनको पहिलो चरणमा रोजगारदाताहरु दर्ता हुने, उनीहरुले आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकहरुको दर्ता गराउने काम हुन्छ।

त्यसपछि योगदान रकम जम्मा गर्न कोषले सूचना जारी गर्छ। कोषको यस्तो सूचना जारी भएपछि रोजगारदाताहरुले कोषमा रकम जम्मा गर्ने काम गर्छन्। यी सर्तहरु पूरा भएपछि मात्रै श्रमिकहरुले सुविधा प्राप्त गर्न सक्छन्। कोषले श्रमिकका खातामा जम्मा भएको रकमको आधारमा उसलाई विभिन्न सुविधा दिँदै आएको छ।

कोषमा आवद्ध योगदानकर्ताले हालसम्म १९ अर्ब १९ करोड ५० लाख ४९ हजार ५५४ रुपैयाँ दाबी भुक्तानी लिएका छन्। फागुन महिनामा मात्रै ३४ करोड ७० लाख २१ हजार ८६५ रुपैयाँ योगदानकर्तालाई निकासा गरिएको कोषले जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App