८ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

पाँच महिनामा साढे दुई सय भन्दाबढी उद्योग दर्ता

चालु आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा उद्योग विभागमा साढे दुई सय भन्दाबढी उद्योग दर्ता भएका छन् । चालु आवको साउनदेखि मंसिरको पहिलो दिनसम्म विभागमा यी उद्योग दर्ता भएका हुन् ।  

उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार चालु आवको पाँच महिनामा दुई सय ६१ वटा उद्योग दर्ता भएको छ । दर्ता उद्योगहरु मध्ये साना, मझौला र ठूलाहरु उद्योगहरु रहेको उनले बताए ।

चालु आवको साउनमा ७६ वटा, भदौमा ७२ वटा, असोजमा ५२ वटा, कात्तिकमा ५६ वटा र मंसिरको पहिलो दिन पाँच वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यसमध्ये एउटा उद्योग खारेजसमेत भएको छ ।  

यसैगरी गत आर्थिक वर्ष २०८१/८२ मा सात सय उद्योग दर्ता भएको थियो भने ११ वटा उद्योग खारेज समेत भएको विभागको तथ्यङकमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा नौ हजार सात सय १९ वटा उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएको विभागले जनाएको छ ।  

सूचना अधिकारी दाहालका अनुसार साना, मझौला र ठूला उद्योगलाई वर्गीकरण गरेर दर्ता गर्ने गरिएको छ । उनले विभागमा विदेशी लगानीका साना तथा ठूला उद्योगसम्म दर्ता हुने र स्वदेशी लगानीका ठूला उद्योगहरु मात्रै दर्ता गर्ने गरेको बताए ।  

उनका अनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ का अनुसार साना उद्योगमा लघु उद्यम र घरेलु उद्योग बाहेकको १५ करोड रुपैयाँ सम्म स्थिर पुँजी भएको उद्योग, मझौला उद्योग १५ करोड रुपैयाँ भन्दा बढी ५० करोड रुपैयाँसम्मस्थिर पुँजी भएको उद्योग र ठूलो उद्योग ५० करोड रुपैयाँ भन्दा बढीस्थिर पुँजी भएको उद्योगहरु विभागमा दर्ता हुने गरेको छ ।  

मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढ्दै गएको उनले बताए ।

प्रकाशित: १ मंसिर २०८२ २१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App