सुनसरी औद्योगिक करिडोरको विद्युत समस्या समाधान गर्न मोरङका उद्योगीहरूले माग गरेका छन् । मोरङ–सुनसरी औद्योगिक करिडोरमा लामो समयदेखि कायम अघोषित लोडसेडिङ, न्यून भोल्टेज र बारम्बार हुने ट्रिपिङको समस्या स्थायी समाधान गर्न उद्योगीहरूले माग गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ समक्ष मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारीहरूले भेट गरी १५ बुँदे ज्ञापनपत्रसमेत बुझाएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए ।
ज्ञापनपत्रमा मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा नियमित र भरपर्दो विद्यूत आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ । यस्तै वर्षौंदेखि अलपत्र परेका बर्जु र केरौन सबस्टेसनको निर्माण कार्य तत्काल सम्पन्न गर्न, कटहरी औद्योगिक क्षेत्रको प्रसारण क्षमता बढाउन पनि माग गरिएको छ ।
नयाँ बजेटमार्फत विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर पूर्ण रुपमा खारेज गर्न माग गर्दै स्वदेशी उत्पादनको लागत घटाई प्रतिस्पर्धी बनाउन डिमान्ड शुल्कमा कटौती गर्नुपर्ने र वर्षायाममा भारत निर्यात गरिने सरहकै सहुलियतपूर्ण दरमा स्वदेशी उद्योगलाई विद्युत् उपलब्ध गराउनु पर्ने माग पनि गरिएको जनाइएको छ ।
नीतिगत सुधारतर्फ ५ देखि ५० मेगावाटसम्म आन्तरिक खपतका लागि उद्योगहरुलाई सहजै जलविद्युत् आयोजना निर्माणको अनुमति पत्र दिनुपर्ने, कम्तीमा एक अर्ब चुक्ता पुँजी भएका सक्षम कम्पनीहरुलाई पुँजीगत सबलताका आधारमा लाइसेन्स दिनुपर्ने सुझाव पनि उद्योगीहरूले दिएका छन् ।
५ वर्षभन्दा बढी समयदेखि काम नगरी अनुमतिपत्र ओगट्ने प्रवृत्ति तत्काल खारेज गर्नु पर्ने र पारदर्शी लिलामी प्रणाली लागू गर्नु पर्ने माग ज्ञापनपत्रमा गरिएको छ। उद्योगहरुले असनवार्य रुपमा आफ्नो ट्रान्सफर्मरको नो लोड लसेस परीक्षण गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, विद्युत् कटौतीको पूर्वसूचना अनिवार्य गर्नुपर्ने माग उद्योगीहरूको छ ।
विद्युतको गुणस्तर सुधार गर्न तथा आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार उद्योगहरुको हकमा विद्युत् महसुल छुटका व्यवस्थाहरुलाई निरन्तरता दिन अनुरोध गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रको प्रोत्साहन र उद्योगको उत्पादन लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । वर्षायामको विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुल र बढी खपत गर्ने उद्योगलाई सहुलियत दर दिने तयारी भइरहेको मन्त्री श्रेष्ठले उद्योगीहरूलाई जानकारी गराएका थिए ।
मोरङ–सुनसरी क्षेत्रमा निर्माणाधीन नौवटा नयाँ सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति भरपर्दो हुने विश्वास दिलाउनुका साथै उद्योग स्थापनाअघि नै विद्युत् पूर्वाधारको जानकारी दिने प्रणाली विकास गर्ने र आन्तरिक खपतबाटै अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिवद्धता जनाएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए ।
प्रकाशित: ७ भाद्र २०८३ २०:४५ आइतबार





