उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बाजुराका दुर्गम क्षेत्रमा बर्सेनि देखिँदै आएको खाद्यान्न अभाव अन्त्य गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएकी छन्।
नेपाली कांग्रेसका तर्फबाट बाजुराका सांसद जनकराज गिरी र स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायासहितको प्रतिनिधिमण्डलले मन्त्री यादवसँग भेट गरी जिल्लाको खाद्यान्न संकटबारे ध्यानाकर्षण गराएपछि मन्त्रीले कम्पनीका महाप्रबन्धकलाई मन्त्रालयमै बोलाएर निर्देशन दिएकी हुन्।
प्रतिनिधिमण्डलले स्वामीकार्तिक खापर गाउँपालिकामा मात्रै करिब ६ हजार दलित परिवारको बसोबास रहेको र खाद्यान्न अभावका कारण बालबालिका तथा सर्वसाधारण कुपोषणको जोखिममा रहेको जानकारी गराएको थियो। उनीहरूले दुर्गम क्षेत्रका बासिन्दालाई नियमित खाद्यान्न उपलब्ध गराउन विशेष पहल गर्न सरकारसँग आग्रह गरेका थिए।
मन्त्री यादवले बाजुराका दुर्गम क्षेत्रमा १२ महिना नै खाद्यान्नको सहज आपूर्ति सुनिश्चित गर्न, आवश्यक जनशक्ति परिचालन गर्न र खाद्य डिपो स्थापना गरी प्रभावकारी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
भेटका क्रममा दुर्गम क्षेत्रमा वर्षमा दुई पटक मात्रै कर्मचारी पुग्ने गरेको गुनासो समेत गरिएको थियो। त्यसपछि मन्त्री यादवले खाद्यान्न आपूर्तिको व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन्।
प्रस्तावित व्यवस्थापन कार्यान्वयन भए बाजुरासँगै छिमेकी कालिकोट जिल्लाका बासिन्दालाई समेत खाद्यान्न आपूर्तिमा सहजता हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १९ श्रावण २०८३ २०:३० मंगलबार





